बतास माथिको चौतर्फी आक्रमणले समग्र निजी क्षेत्र त्रसित: उद्योग वाणिज्य संघ काठमाण्डौं


बतास समुह माथि चौतर्पी आक्रमण भएको भन्दै नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले व्यवसायको चरित्र हत्या तथा मानमर्दन नगर्न आग्रह गरेको छ ।

मंगलबार संघले विज्ञप्ति जारी गर्दै व्यवसायी आनन्दराज बतास तथा बतास अगैनाइजेशन माथि नारायणहिटी दरबार संग्रहालयमा क्याफेटेरिया सञ्चालन सम्बन्धि विवादमा एकतर्फी प्रहार भएको जनाएको हो । शंकाको भरमा विभिन्न सञ्चार माध्यममा व्यवसायीको चरित्र हत्या र मानमर्दन गरिएको गम्भीर अवस्थाले सम्पुर्ण निजी क्षेत्र ससंकित र आतंकित भएको संघले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं संघका अध्यक्ष दिनेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा सरकारले खुलाएको टेण्डरमा विधिपुर्वक रुपमा बतास अर्गनाइजेशनसँग सम्झौता गरी कानुनी रुपमा क्याफेटेरिया सञ्चालनको अनुमति पाएकोमा प्रमाणरहित समाचारको आधारमा सरकारले निर्माणधीन संरचना भत्काएको उल्लेख छ ।

“राज्य र जनताप्रति जिम्मेवार र संवेदनशील रहेका व्यवसायीलाई राज्यले एकतर्फी रुपमा दोषी देखाउँदै स्पष्टीकरणको मौका समेत नदिई निर्माणाधीन संरचना भत्काउनुलाई मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वाताबरण माथि अंकुश लगाएको महसुस यस संघले गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकृया र कानुन विपरित भएका गतिविधि माथि राज्यले यथाशीघ्र छानबिन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई कार्वाही र पिडित व्यवसायीलाई क्षतिपुर्तीको व्यवस्था गरिदिन पनि संघले आग्रह गरेको छ ।

स्वतन्त्र व्यवसाय माथि नियोजित रुपमा भएका आक्रमणका सम्बन्धमा संवेदनशील हुनका लागि पनि संघले सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ । बतास प्रकरणमा भईरहेका प्रहारमाथि गम्भिर हुन पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

व्यवसायी माथि हुने यस किसिमका आक्रमणले अन्तर्राष्ट्रिय जगतमा समेत गलत सन्देश जाने र यसले लगानी भित्र्याउन असहज अवस्था उत्पन्न हुने संघको बुझाई छ । संघले बतास माथिको आक्रमणले थप निरन्तरता पाएको खण्डमा निजी क्षेत्रलाई एकताबद्ध बनाई चरणबद्ध रुपमा बिरोधका कार्यक्रमहरु सुरु गर्ने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।