नेपालमा लगानी गर्न जर्मनीलाई चेम्बरको आग्रह

0
Shares

नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रवद्र्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसँग आग्रह गरेको छ ।

नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग आज चेम्बर भवन जमलमा भएको भेटघाटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत्, पर्यटन, निर्यातमूलक उद्योगमा लगानी तथा सहकार्य गर्न आग्रह गरेका हुन ।

भेटमा अध्यक्ष मल्लले जलाशाययुक्त जलविद्युत् आयोजनामा लगानीको सम्भावना रहेकाले जर्मनीका निजी क्षेत्रलाई अध्ययन भ्रमणका लागि बोलाउन राजदूत प्रिन्जसँग आग्रहसमेत गरे।

उनले पर्यटन क्षेत्रमा युरोपेली मुलुकलाई आकर्षित गर्न नेपालले विभिन्न अभियान चलाइरहेको बताउँदै काठमाडौँबाट युरोपमा सिधा उडान खुलाउनका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गरे। काठमाडौँबाट सिधा उडान भएमा नेपालमा युरोपबाट धेरै पर्यटक घुम्न आउने उनको भनाइ थियो ।

अध्यक्ष मल्लले कफी, पश्मिना, जडीबुटीजन्य तेल, हस्तकलाका सामानको जर्मनीलगायतका युरोपेली देशमा माग रहेकाले व्यापार सहजीकरण गर्नुपर्ने बताए । सोही भेटमा राजदूत प्रिन्जले कोभिडलगत्तै विश्वमै पर्यटन गतिविधि बढ्ने भएकाले त्यसको अवसर खोज्नतर्फ नेपाल लाग्नुपर्ने बताएका थिए । काठमाडौं ‘फ्र्याङ्कफर्ट’ सिधा हवाई उडानका लागि नेपालले हवाई सुरक्षाको मापदण्ड पूरा गर्नुपर्ने राजदूत प्रिन्जको भनाइ थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।