विद्युतीय चुल्होको हल्ला धेरै, आयात ५६ प्रतिशत घट्यो, पानी तताउने जग आयात भने बढ्यो


नेपाल विद्युत प्राधिकरणले विद्युत आपुर्ती नियमित भएसँगै विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । यस क्रमममा घरघरमा विद्युतीय चुल्होको प्रयोगको चर्चा चलिए अनुसार यसको बिक्री बितरण हुन नसकेको देखिएको छ ।

नेपालमा विद्युतीय चुल्होको उत्पादन नहुने भएकाले आयातित विद्युतीय चुल्होको प्रयोग हुने गरेको छ । यस दौरान चर्चा भए अनुसार विद्युतीय चुल्होको आयात बढ्ने मात्र नभई सन्तुलनको अवस्थामा पनि नरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिको तथ्यांकलाई गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा विद्युतीय चुल्होको आयात ५० प्रतिशतभन्दा धेरैले घटेको हो ।

पेट्रोलियम पदार्थ खपत घटाउँदै विद्युतीय उपकरोण्को प्रयोगमा विद्युत महसुल घटाउने उद्घोष गर्दै उर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतीय चुल्होको प्रयोगमा जोड दिँदै आईरहेकी छन् । यद्यपी नतिजा भने उनले सोचेजस्तो नभएको विभागको तथ्यांकले देखाउँछ ।

मन्त्री भुसाल मात्र नभई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि विद्युत खपत बढाउन विद्युतीय चुल्होको प्रयोग गर्न आग्रह गर्दै आएका छन् ।

घिसिङले केही समय अघि विद्युतिय सामाग्रीको प्रयोग गर्न प्रोत्साहान गर्दै अभियान सम्म चलाए । तर यो चर्चाले केही हदसम्म व्यापार बढेपनि गत वर्षको तुलनामा आयात भने बढ्न नसकेको हो । उल्टै विद्युतीय चुल्होको आयात ५० प्रतिशतभन्दा बढीले घटेको छ । यो तथ्यांकले उपभोक्तामा चुल्होको आकर्षण बढ्न नसकेको देखाउँछ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा चीन, भारत र इन्डोनेसियाबाट ६ करोड ९७ लाख ७२ हजार रुपैयाँ बराबरका ३२ हजार ४५६ थान विद्युतीय चुल्हो आयात भएको छ ।

जसमा ४ करोड ६३ लाख ५१ हजार रुपैयाँ बराबरका २१ हजार ५४० थान इन्डक्सन र २ करोड ३४ लाख २१ हजार रुपैयाँ बराबरको १० हजार ९१० थान इन्फ्रारेड चुल्हो आयात भएको हो ।

गत आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा बंगलादेश, चीन, भारत, इटाली, मलेसियालगायत मुलुकहरुबाट १५ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको १ लाख ५ हजार ८८६ थान इन्डक्सन चुल्हो आयात भएको थियो ।

समीक्षा अवधिमा विद्युतीय चुल्होको आयात रकममा ८ करोड ९२ लाख १७ हजार रुपैंयाको गिरावट आएको छ भने चुल्होको संख्या पनि ७३ हजार ४३० ले घटेको छ । प्रतिशतका आधारमा हेर्दा विद्युतीय चुल्होको आयात रकम ५६.१२ प्रतिशत तथा संख्याका आधारमा ६९.३५ प्रतिशतले घटेको हो ।

उल्लेखित तथ्यांकले चर्चा अनुसार विद्युतीय चुल्होको प्रयोगमा उपभोक्ता आकर्षित नभएको देखाउँछ । विद्युतको आपूर्ती नियमित भए पनि पर्याप्त भोल्टेज नहुने, पटक पटक विद्युत प्रशारण अबरुद्ध हुने लगायत कारणले पनि विद्युतीय चुल्होको खपतमा सोचे अनुसार आकर्षण नबढेको व्यवसायीहरुको बुझाई छ ।

“गत वर्ष विद्युतीय चुल्हो किन्न आउनेहरु धेरै हुन्थे, अहिले खासै खोजी हुँदैन । माग कम भएका कारण नै थोरै सामान मात्र ल्याउने गरेका छौं, त्यो पनि स्टकमा बसेको अवस्था छ,” नयाँ बानेश्वर क्षेत्रमा विद्युतीय सामग्रीको पसल सञ्चालक भन्छन् । उनका अनुसार यो अवधिमा जाडोका कारण तातो पानी तताउने विद्युतीय जगको माग भने अधिक छ । पसलमा आउने अधिकांश उपभोक्ताले विद्युतीय जग खरिद गर्ने गरेको उनी बताउँछन् ।

उता भन्सार विभागको तथ्यांकले पनि विद्युतीय जगको आयात बढेको देखाउँछ । खाना पकाउन विद्युत आपुर्ती सहज नहुँदा पर्खिन नमिल्ने भए पनि पानी तताउन सहज हुने भएकाले जाडोको समयमा जगको बिक्री बितरणसँगै आयात पनि बढेको हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा भारत, चीन लगायत मुलु्कबाट ३१ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरका ७ लाख १४ हजार ७५६ थान विद्युतीय जग आयात भएको छ ।

गत वर्षको यसै अवधिमा अफगानिस्तान, भारत, चीन, कतार, पोल्याण्ड, साउदी अरब लगायत मुलुकबाट १२ करोड ५२ लाख ६५ हजार रुपैयाँ बराबरका २ लाख ८१ हजार ४२८ थान विद्युतीय जग आयात भएको थियो ।

समीक्षा अवधिमा विद्युतीय जगको आयात रकम १९ करोड १३ लाख ६० हजार रुपैंया तथा संस्थाका आधारमा ४ लाख ३३ हजार ३२८ ले बढेको हो । प्रतिशतका आधारमा हेर्दा विद्युतीय जग आयात भएको रकम १५२.७६ प्रतिशत तथा संख्याका आधारमा १५४ प्रतिशतले बढेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।