दश वर्षमा परिवार संख्या साढे २४ प्रतिशतले बढ्यो, अलग बस्ने बढ्दै


राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवारहरु जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरमा बस्दै आएको जनगणनाले देखाएको छ ।

१० वटा घरमा औसतमा १२ वटा परिवार बसोबास गर्दै आएको जनगणनाले देखाएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ वटा परिवार थप भएका छन् । हालको परिवार संख्या दश वर्ष अघिको भन्दा करिब २४.५७% ले वृद्धि भएको हो ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार प्रति परिवार ४.३२ जना सदस्य रहेको देखिन्छ जुन २०६८ मा ४.८८ जना थियो । शहरी क्षेत्रको परिवारमा सालाखाला ४.२५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको देखिन्छ जुन दश वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो । भौगोलिक क्षेत्र अनुसार हिमाली क्षेत्रमा सालाखाला ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको देखिन्छ ।

प्रदेशगत आधारमा हेर्दा परिवारमा औसत सदस्य संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम अर्थात ३.६६ जना र मधेश प्रदेशमा सबैभन्दा बढी ५.६६ जना रहेको छ जुन २०६८ सालमा क्रमशः ४.१६ जना र ५.८० जना रहेको थियो ।

जिल्ला अनुसार दोलखा जिल्लामा परिवारको आकार सबैभन्दा सानो अर्थात ३.४१ जना देखिएको छ भने रौतहट जिल्लामा परिवारको आकार सबैभन्दा ठुलो अर्थात ५.९२ जना देखिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।