नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक, बीमितलाई अधिकतम ८२ रुपैयाँसम्म बोनस

0
Shares

जीवन बीमा कम्पनीहरु मध्येकै अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६।७७ का लागि बीमा समितिबाट माघ १३ गते स्वीकृत गरेर विभिन्न प्रकारका बीमा योजनाहरूको लागि बोनस दर सार्वजनिक गरेको हो ।

जसअनुसार कम्पनीले सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा पनि सोही बोनसदर लागू हुने जनाएको छ ।

यस्तै अग्रिम भुक्तानी बीमा योजनामा प्रतिहजार न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ५८ रूपैयाँसम्म र अग्रिम भुक्तानी सावधिक बीमा योजनामा प्रति हजार ६० रूपैयाँ बोनस प्राप्त गर्न सकिनेछ ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ । साथै, बीमा समितिबाट अर्को मूल्याङ्कन प्रतिवेदन बमोजिम व्यवस्था नभएसम्मको लागि यहि बोनस दर नै कामय हुने कम्पनीले जानकारी दिएको छ ।

बोनस दर के हो ?

जीवन बीमा कम्पनीहरुले हरेक वर्ष बीमांक रकमको प्रति हजार रुपैयाँ बराबर दिने प्रतिफल नै बोनस दर हो ।

बीमा गर्ने व्यक्तिले यो बोनस बीमा अवधि सकिएपछि एकमुष्ट पाउँछ । यसको हिसाब गर्दा कुल बीमांक रकमलाई हजारले भाग गरेर प्रति हजार रुपैयाँ तोकेको बोनस दर दिइन्छ ।

बोनस दर हरेक वर्ष परिवर्तन हुनसक्छ । कम्पनीले पाउने सबै पूँजी स्रोतमा उसले तिर्नुपर्ने दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बाँड्ने हो । जीवन बीमा कम्पनीहरुले अहिले हरेक वर्ष एक्चुअरी मूल्यांकन गरेर आफ्नो वास्तविक दायित्व निकाल्छन् ।

मानौं, यसरी दायित्व देखिएपछि त्यसलाई भुक्तानी गर्न आवश्यक रकम छुट्याएर १०० रुपैयाँ उब्रन्छ भने त्यो १०० रुपैयाँ मध्ये ९० रुपैयाँ बीमितहरुको योजनालाई प्रतिफल (बोनस दर) दिनुपर्छ । बाँकी १० रुपैयाँ सेयर लगानीकर्ताले प्रतिफल (बोनस सेयर वा नगद लाभांश) पाउने हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।