ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा १३ करोड धेरै, दाबी भुक्तानी ३८०% बढ्याे

0
Shares

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यस अवधिसम्म कम्पनीको १० करोड ७८ लाख ७१ हजार नाफा कमाएकोमा २४.२३ प्रतिशतले खुद नाफा बढेको हो ।

चुक्ता पूँजी २ अर्ब २० करोड रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.१८रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३६.८८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५४.५९ गुणा छ ।

कम्पनीको जगेडा कोषमा ७२ करोड ९० लाख र जीवन बीमा कोषमा ५ अर्ब १४ करोड ४४ लाख सञ्चित रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ५१.१० प्रतिशत तथा जीवन बीमा कोष ७६.३० प्रतिशत वृद्धि भएको हो । कम्पनीको महाविपत्ति कोषमा ८ करोड २२ लाख सञ्चित रहेको छ ।

दोस्रो त्रैमाससम्मको कम्पनीले १ अर्ब ६४ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १७.६९ प्रतिशतले धेरै हो । कम्पनीले पुससम्म १ अर्ब ७१ करोड ४६ लाख बढी कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले गत आवको यसै अवधिमा १ अर्ब ४४ करोड ५४ लाख बढी कुल बीमाशुल्क आर्जन गरेकोमा १८.२० प्रतिशत बढेको हो ।

कम्पनीको दाबी भुक्तानी ३८० प्रतिशत बढेको छ । गत आवको यसै अवधिमा ३ करोड १ लाख दाबी भुक्तानी गरेकोमा चालु आवको यसै अवधिमा १४ करोड ४५ लाख बढी कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले २९४ वटा दाबी बापत १४ करोड ४५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २२२ वटा दाबी बापत ७ करोड ५२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीले बीमालेख धितोमा ५६ करोड ४५ लाख कर्जा प्रवाह गरेको छ । गत आवको यसै अवधिमा ३९ करोड ९९ लाख बीमालेख धितोमा कर्जा गरेकोमा ७६.३० प्रतिशतले बढेको हो । यसबाट कम्पनीले ३ करोड ७६ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै कम्पनीले यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट २० करोड १२ लाख ६१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्न कम्पनीले फागुन ६ गतेको वार्षिक साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।