त्यस्तो व्यक्ति जसको एक ट्वीटले निर्धारण हुन्छ क्रिप्टोकरेन्सीको मूल्य

0
Shares

विश्वका धनाढ्य व्यक्तिहरुको सूचीमा सर्वाधिक रुपमा दोहोरिने नाम हो, एलन मक्स । मंगलग्रहमा बस्ती बसाउने परिकल्पना गर्ने एलन मक्स उच्च मह्त्वाकांक्षी सपना समेटिएका ट्वीटका कारण सामाजिक सञ्जाल ट्वीरमा सधै चर्चामा आईरहन्छन् ।

विद्युतीय कार निर्माता कम्पनी टेस्ला र एरोस्पेस कम्पनी स्पेस एक्सका प्रमुखकार्यकारी निर्देशक एलन मक्सले गरेको एक ट्वीटको प्रभाव विश्व अर्थतन्त्रमाथि पर्ने गर्छ । पछिल्लो समयमा प्रविधिमा आधारीत क्रिप्टोले पनि उनकै कारण व्यापाकता पाएको छ ।

पछिल्लो समयमा विश्व अर्थतन्त्रलाई टक्कर दिने गरी मौलाएको क्रिप्टोकरेन्सीले नेपाल जस्तो विकासशील अर्थतन्त्र होस् या चीन जस्तो विकसीत अर्थतन्त्र, सबैमा भूचाल ल्याउने गरी अघि बढिरहेको छ ।

सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीबाट केन्द्रीकृत वित्तीय प्रणाली प्रति बढेको आम मानिसको वितृष्णा मेटाउने उद्देश्यले क्रिप्टोकरेन्सीको आविष्कार भयो । क्रिप्टोकरेन्सी ओपन स्रोर्स सफ्टवेयरबाट सञ्चालन गर्न मिल्ने अभौतिक मुद्रा हो ।

एक अज्ञात व्यक्ति या व्यक्तिहरुको समूह“सातोसी नाकामोटो” नाम दिइएको व्यक्ति वा समूहलाई क्रिप्टोकरेन्सीको आविष्कारक भनिएको छ । सातोसी नाकामोटोले बिटकोइनको आविष्कार गरी पहिलो क्रिप्टोकरेन्सीलाई जन्मदिएका थिए । उनैले दिएको बिटकोइन ह्वाइट पेपरको आधारमा अहिले ६ हजार भन्दा बढी क्रिप्टोकरेन्सी बजारमा प्रचलनमा रहेका छन् । अहिले नेपाली बजारमा क्रिप्टोकरेन्सी मानिने बिटकोइनको मूल्य ४४ लाखप्रति कोइन रहेको छ । तर बिटकोइनको मूल्य आविष्कार गरेका सुरुवाती दिनहरुमा यति धेरै थिएन ।

सन् २००९ मा बिटकोइनकोे मूल्य शून्य थियो अर्थात् बिटकोइन निशुल्क रुपमै प्राप्त गर्न सकिन्थ्यो । कारोबारमा संलग्नव्यक्तिहरु बाहेक अरु कसैले पनि ट्रेस गर्न नसक्ने र निशुल्क रुपमै प्रयोग गर्न मिल्ने जस्ता विशेषताका कारण बिटकोइनको लोकप्रियता बढ्दै गयो । तर जति बिटकोइनका प्रयोगकर्ता बढ्दै गए त्यसरी नै बिटकोइनको मूल्यमा पनि वृद्धि हुँदै गयो । सन् २००९मा शून्य मूल्य भएको बिटकोइन २०१० मापुग्दा ०.०९ डलर हुन पुगेको थियो । अहिलेको अवस्था हेर्ने हो भने बिटकोइनको मूल्य ३७ हजार अमेरिकी डलर भन्दा बढी छ ।

कसरी आकाशियो १३ वर्षको अवधिमा बिटकोइनको मूल्य ?

बिटकोइनको मूल्य बढ्नु भनेको बिटकोइनका प्रयोगकर्ताहरु बढ्नु हो । क्रिप्टो डट कमले गरेको एक अनुसन्धान अनुसार सन् २०२२ को डिसेम्बर महिना सम्म क्रिप्टोकरेन्सीका प्रयोगकर्ताहरु बढेर १ अर्ब पुग्ने भनी अनुमान गरिएको छ । सन् २०२१ को जुलाई महिना सम्म २३ करोड प्रयोगकर्ता रहेका थिए भने प्रयोेगकर्ताहरुको सङ्ख्या अगस्ट महिनामा २६ करोड ३ लाख पुगेको थियो र डिसेम्बरसम्म आइपुग्दा २९ करोड ५ लाख रहेको थियो । विश्वव्यापी रुपमा क्रिप्टोकरेन्सीका प्रयोगकर्ताहरु बढिरहेका छन् र त्यसरी नै बढिरहेको छ क्रिप्टोको बजार पुँजीकरण । सन् २०२२ मा क्रिप्टोकरेन्सीको विश्वव्यापी पुँजीकरण १० खर्ब अमेरिकी डलर भन्दा धेरै रहेको छ । यो कुल पुँजीकरण अधिकांश देशहरुको वार्षिक बजेट भन्दा निकै धेरै रहेको हो ।

क्रिप्टोकरेन्सीको मूल्य बढाउने अर्को कारक तत्व भनेको विश्वका धनाढ्य व्यक्तिले क्रिप्टोको कारोबारलाई स्वीकृति दिनु रहेको छ । एलन मक्सले सन् २०२१ को मार्च महिनामा बिटकोइनलाई वैधानिक भुक्तानीको साधनका रुपमा स्वीकृत गरेपछि बिटकोइनको मूल्य बढेको थियो । त्यसका साथसाथै २०२१ को जुन महिनामा एल् साल्भाडरका राष्ट्रपति नयिव बुकेलले बिटकोइनलाई वैधानिक टेन्डरको रुपमा स्वीकृत गरेपछि क्रिप्टोकरेन्सीका प्रयोगकर्ता र मूल्यदुवै बढेको थियो ।

त्यसैगरी एलनमक्सले २०२१ को मे १३ मा गरेको एक ट्वीटका कारण बिटकोइनको मूल्य १५ प्रतिशतले घटेको थियो । ‘टेस्लाले बिटकोइनको प्रयोग गरी गरिने कार किनबेचमा प्रतिबन्ध लगााएको छ । बिटकोइन माइनिङ र कारोबारमा अत्यधिक फोसिल फ्युल(कोल)को प्रयोग गरेको पाइएकोले प्रतिबन्ध लगाएका हौं । क्रिप्टोकरेन्सी धेरैको लागि राम्रो भएको तर पनि वातावरणमा हानी पु¥याउने भएकोले वातावरण प्रदुषणको कारक सँग कारोबार नगर्ने, यथाशीग्र बिटकोइनकोे माइनिङमा दिगो उर्जाको प्रयोग नभएसम्म बिटकोइनसँग कारोबार नगरिने’ भनी मक्सले ट्वीट गरेका थिए ।

सन् २०२१ को अप्रिल महिनामा ६४ हजार ८ सय अमेरिकीडलर पुगेको बिटकोइनको मूल्य मक्सको ट्वीट र चीनियाँ सरकारले क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउँदा ३० हजारमा झरेको थियो । सन् २०२१ को जुन १३ मा मक्सले आफूले उत्तरी अमेरिकाका माइनर्सहरुसँग कुरा गरेको र माइनर्सहरुले अनवीकरणीय उर्जाको कम प्रयोग गर्ने र ५० प्रतिशत स्वच्छ उर्जाको प्रयोग गर्ने भनेपछि बिटकोइनको भुक्तानी पुन स्विकार गर्ने भनी ट्वीट गरेका थिए । उनको ट्वीटको असर यसरी प¥यो कि ३० हजार भएको बिटकोइनको मूल्य सेप्टेम्बर महिनामा ५० हजार हुँदै अक्टोबर महिनामा ६२ हजार सम्मपुग्यो । तर डिसेम्बर महिनापछि भने विभिन्न देशहरुमा क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाइदा यसको मूल्य घटेर ३४ हजार सम्मपुगेको छ ।

यसरी एलन मक्सले गरेका ट्वीटले उनलाई फाइदा हुने होइन तर उनको एक ट्वीटका कारण लगानीकर्ताहरुको मानसिकतामा प्रभाव पार्ने भएकाले पनि उनका ट्वीटले क्रिप्टोको मूल्य निर्धारण गरेको देख्न सकिन्छ ।

विश्वका कति राष्ट्रमा क्रिप्टो कारोबा प्रतिबन्ध छ ?

कोरोना महामारीका बेला विश्व अर्थतन्त्र धरासायी भएको बेला क्रिप्टो बजार मौलाएको थियो । तर, वर्तमान परिप्रेक्षमा क्रिप्टोकरेन्सीले विश्व आर्थिक बजारलाई नै चुनौती दिन सफल भएको छ । विश्वका १९५ देशहरु मध्ये अहिले करिब ४२ देशहरुमा यसको कारोबारलाई प्रतिबन्ध लगाएको छ । क्रिप्टो कारोबारलाई नेपाल तथा नेपालका छिमेकी राष्ट्रहरु भारत, चीन र बांगलादेशमा पनि प्रतिबन्ध लगाइएको छ । –एजेन्सीको सहयोगमा

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।