चुहावट नियन्त्रण गर्न ‘टास्क फोर्क’ बनाइने, कानुन कै गलत व्याख्या गरी राजस्व चुहावट


अर्थमन्त्रालयले राजस्व चुहावट नियन्त्रण गर्नका लागि ‘टास्क फोर्स’ गठन गर्ने भएको छ । मन्त्रालयले गृह मन्त्रालय र प्रहरी प्रशासनको समेत विषेश सहयोग लिएर राजस्व चुहाव नियन्त्रणका लागि गरिने ‘अपरेसन’ का लागि ‘टास्क फोर्स’ बनाउने भएको हो ।

चुहावट नियन्त्रण समितिको बैठकमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले राजश्व राष्ट्रको रगत पसिना रहेको उल्लेख गर्दै त्यो बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताए । राजश्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताउदै उनले भने,“राजश्व चुहावटलाई नियन्त्रण गर्न तुरुन्त कदम चाल्नु पर्छ ,त्यसको नियन्त्रणको कार्य आजको आजैबाट सुरु गर्नुपर्छ ।”’ यसका लागि आवश्यक बजेट तथा अन्य व्यवस्था गर्न अर्थ मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने उनको भनाई छ ।

राजश्व चुहावट नियन्त्रण गर्न ‘अपरेशन’ संगै नीतिगत सुधारलाई पनि गर्नु पर्ने उनको भनाइ छ । हाल संसदबाट नीति निर्माण गर्न असहज भइरहेका बेला मन्त्री स्तरीय तथा मन्त्रिपरिषद्बाट सम्भव भएसम्म नीतिगत परिवर्तन तथा सुधार गरिने उनले बताए ।

मन्त्री शर्माले कतिपय राजश्व चुहावट आम मानिसमा चेतना नहुँदा पनि भइरहेको औल्याएका थिए । सर्वसाधारणमा जनचेतना फैलाएर सम्पूर्ण निकाय, आम जनता लगायत सरोकारवाला सबै मिलेर राजश्व चुहावटविरुद्ध लागे ८० देखि ९० प्रतिशतसम्म चुहावट नियन्त्रण गर्न सकिने उनको भनाइ छ । त्यसैगरी नाकामा रहेका प्रहरी, कर्मचारीलगायतलाई तालिमको व्यवस्था गर्ने, द्रूत गतिमा संरचनागत तथा प्रविधिको विकास गर्ने लगायतका कार्यले पनि राजश्व चुहावटमा कमी ल्याउन सकिने उनको बुझाई छ ।

पछिल्लो समय डिजिटल प्रविधिमार्फत् राजश्व चुहावटका घटनाहरू बढेको बताउदै उनले भने,“क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका ‘अवैध’ कार्य भइरहेका छन् ।” यससँगै आय खर्चको गलत घोषणा गर्ने, कानुनको गलत व्याख्या गर्ने, नक्कली बीजक तथा अन्तशुल्क स्टिकरको प्रयोग गर्ने, भन्सारविन्दुको नजिकै गोदाम राखेर चोरी पैठारी गर्ने लगायतबाट राजश्व चुहाव हुने गरेको उनले जानकारी दिए । त्यस्तै भन्सारबाट सुन, चाँदी, विद्युतीय सामग्री, पशु चौपाया, घरायसी मालवस्तुलगायतमा राजश्व चुहावट बढी हुने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।