ग्रीन भेन्चर्सले फागुन २ गतेदेखि पहिलो चरणको आईपीओ खुला गर्ने

0
Shares

ग्रीन भेन्चर्सको आईपीओ फागुन २ गतेदेखि पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

भेन्चर्सले फागुन २ गते सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि पहिलो चरणमा आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीको पहिलो चरणमा जारी पूँजीको १० प्रतिशतले हुन आउने प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता आईपीओ बिक्रीमा ल्याउन लागेको हो । स्थानीयको आईपीओ निष्काशन तथा बाँडफाँड पश्चात सर्वसाधारणका लागि दोस्रो चरणमा सोही संख्यामा सेयर जारी हुनेछ ।

उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका १ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका २ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका ३ (साविक खिजीचण्डेश्वरी गाबिस), ओखलढुङ्गा, लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), ओखलढुङ्गा, लिखु तामाकोशी गाउँपालिका१ (साविक दरागाउँ गाविस), रामेछाप, लिख तामाकोशी गाउँपालिका२ (साविक सपु गाविस), रामेछाप र उमाकुण्ड गाउँपालिका ७ (साबिक भुजि गाविस) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

आयोजना प्रभावित स्थानीयले बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आईपीओमा आवेदन दिन सक्नेछन् । छिटोमा फागुन १६ गते तथा सो अवधिमा सबै सेयर खरीदका लागि माग नपरेमा ढिलोमा चैत्र १ गतेसम्म आईपीओमा निष्काशन खुला रहनेछ ।

लगानीकर्ताहरुले आईपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौँ, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडौँ, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धोबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले रहेको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्ग कम्पनीलाई ‘केयरनपी–आईआर बीबी’ ग्रेडिङ प्रदान गरिएको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ ।

कम्पनीका बारे

ग्रीन भेन्चर लिमिटेड जलविद्युत क्षेत्रमा लगानी गर्नका लागि स्थापित कम्पनी हो । कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका–१ र ३, तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ मा केन्द्र रहेको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत १२ अर्ब ८ करोड हुने जनाएको छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रर्बद्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ ।

उक्त आयोजनाको प्रबद्र्धकको रुपमा नेपालका प्रतिष्ठित व्यापारिक समूह त्रिवेणी ग्रुप एवं विशाल ग्रुप रहेका छन् । सो आयोजनामा नबिल बैंकको अगुवाईमा सात वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् । जसमा नबिल बैंकको एक अर्ब ४२ करोड, लक्ष्मी बैंक र ग्लोबल आइएमई बैंकले एक अर्ब २५ करोडका दरले लगानी गरेका छन् । त्यस्तै एसबिआई र सनराइज बैंकले एक।एक अर्ब तथा प्रभु र सानिमा बैंकको ८५।८५ करोड रुपैयाँ लगानी छ ।

आयोजनाका लागि २०७४ मङ्सिर २९ गते वित्तिय व्यवस्थापन सम्पन्न भएको थियो । आयोजनाले नेपाल विद्युत प्राधिकरण संग २०७३ असार २५ गते बिद्युत खरिद सम्झौता गरेको थियो । 

उक्त आयोजनावाट उत्पादित उर्जा २२० केभि डबल सर्किट ट्रान्समिसन लाइनबाट नेपाल विद्युत प्राधिकरणको खिम्ती सबस्टेशनमा जोडिएको आयोजनाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।