फोन पे र प्रभु पे बीच सहकार्य, प्रभु पेका ग्राहकले फोन पेको क्यूआर मार्फत कारोबार गर्नसक्ने


नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिस र प्रभु पे बिच सहकार्य भएको छ । बुधबार काठमाण्डौंमा भएको एक कार्यक्रममा फोन पे र प्रभु पे बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । यो सम्झौतासँगै अब प्रभु पे फोन पे नेटवर्कमा आवद्ध भएको छ ।

कम्पनीका अनुसार बुधबारदेखि प्रभु पेका ग्राहकले फोन पेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । कम्पनीले यस किसिमको सहकार्यले नेपालको डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने अपेक्षा गरेको छ ।

कार्यक्रममा फोन पेका सहायक प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले नगद कारोबारलाई घटाउँदै लैजाने साझा अभियानमा प्रभु पे जोडिएकोमा खुसी व्यक्त गरेका छन् ।

“हामी पहिला देखि नै अन्तर आबद्धताका लागि जोड दिँदै आइरहेका थियौं, पछिल्ला दिनमा नियामक निकाय राष्ट्र बैंकले पनि एक आपसमा अन्तर आवद्धका लागि निर्देशन गरिरहेको छ । हामी सबै कम्पनीको लडाई भनेको नगद कारोबारसँग हो ।” सापकोटाले भने, “प्रभु पेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निमार्ण गर्ने हाम्रो समान उद्देश्यमा थप मद्धत पुग्नेछ । हामी अन्य भुक्तानी प्रदायकलाई पनि हाम्रो नेटवर्कमा जोडिन आह्वान गर्दछौँ ।”

यसैगरी प्रभु पेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले पनि फोन पेसँगको सहकार्यका लागि सबैलाई धन्यवाद दिएका छन् । साथै उनले डिजिटल कारोबारमा धेरै किसिमको सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए ।

फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । यति मात्र होइन बैक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंङ्किग प्रयोगकर्ताले फोन पे मार्फत कारोबार गर्दै आइरहेका छन् ।

प्रभु पे का ७ लाख भन्दा धेरै ग्राहक छन् । प्रभु पे मार्फत मोबाइल र टिभी रिचार्ज, हवाइ टिकट, मुभी टिकट लगायत सेवाका साथै थुप्रै सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदान प्रदान गरिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।