आईपीओ क्रेज बढ्दै, पहिलो दिनमै इमर्जिङ्ग नेपालको आईपीओमा १४ गुणा बढी आवेदन


बुधबारदेखि सार्वजनिक निष्कासनमा आएको इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा १४ दशमलव ४१ गुणा बढी आवेदन परेको छ ।

पहिलो दिन साझ ५ बजेसम्म ६ लाख ३३ हजार २१७ जना आवेदकहरुबाट ७४ लाख ४७ हजार ३२० कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीले प्रतिसेयर १०० अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

कुल कित्तामध्य २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर भने सार्वजनिक निष्काशनमा आएको हो । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ फागुन १ गतेसम्म मात्र बिक्रीमा रहनेछ ।

विक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले पाएको छ । यो आईपीओ खरिदका लागि बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तथा मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओलाई इक्रो नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने ‘इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग’ प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रहेको छ ।

आईपीओ पश्चात यो पूँजी ५५ करोड ५६ लाख पुग्नेछ । कम्पनीमा हाल संस्थापकतर्फ ९० प्रतिशत सेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणतर्फ कर्मचारी समेत १० प्रतिशत सेयर कम्पनीले बिक्री गर्न लागेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।