एचआईडिसीएलको वित्तीय विवरण सार्वजनिक, नाफामा सामान्य वृद्धि

0
Shares

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा सामान्य नाफा आर्जन गरेको छ । विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४५ करोड ३६ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९१ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४२ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको ग्राहक सम्झौताबाट भएको आम्दानी ५७.९१ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी २.१३ प्रतिशत बढेको छ । यसअनुसार कम्पनीको ग्राहक सम्झौता आम्दानी र वित्तीय आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।

त्यसैगरी, कम्पनीको कर अघिको नाफा भने समीक्षा अवधिमा २.१३ प्रतिशत बढेको छ । कम्पनीले सर्वसाधारण शेयर लिलामीबाट शेयर प्रिमियमबापत ५० करोड ४० लाख रूपैयाँ रकम संकलन गरेको छ । त्यसैगरी, कम्पनीले संस्थापक समूहको ३ अर्ब ३० करोड बराबरको अवितरित हकप्रद शेयरको लिलामी बढाबढ प्रकृया मार्फत बिक्री गर्ने भएको छ ।

तर नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ १९ पैसाबाट ३४ पैसा घटेर ४ रुपैयाँ ८५ पैसामा झरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।