शून्य लागतमा पशुधन बीमा

0
Shares

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले किसानको शून्य लागतमा पशुधन बीमा गरिदिएको छ । सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत रकम ब्यहोर्ने गरी पशुधनको बीमा गरिएको हो । पशु बीमाको प्रिमियमका लागि रु ४० लाख विनियोजन गरिएको सो कार्यालयले जनाएको छ ।

व्यावसायिक रुपमा पशु फार्म सञ्चालन गरेका किसानको रु २ लाखसम्मको बीमा गरिएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिएका छन् । पशुपालन गर्दा कतिपय अवस्थामा बस्तुले हानेर फार्म सञ्चालकको मृत्यु हुने गरेकोले किसानको समेत बीमा गरिएको उनले बताए ।


गत आर्थिक वर्ष सङ्घीय सरकारबाट ७५ प्रतिशत र गण्डकी प्रदेश सरकारबाट २५ प्रतिशत बीमाका लागि सहयोग प्राप्त भएको थियो । गतवर्ष ५ हजार पाँच सय एघार किसानले रु ४५ लाख बराबरको प्रिमियम लिएका थिए । कार्यालय प्रमुख श्रेष्ठले भने,“यस वर्षको साउनदेखि हालसम्म दुई सय किसानले पशु बीमा गराएका छन्, पछिल्लो समय बीमातर्फ किसानको आर्कषण बढ्दै गएको पाइन्छ ।”

पशुपालक किसानमा बीमा गर्नुपर्छ भन्ने चेतना आएको छ । कुनै वर्ष किसानले पशुको बीमा नगर्दा विनियोजित बजेट पनि फ्रिज भएर फिर्ता भएको थियो । गतवर्ष १६ हजार ६ सय २९ पशुको बीमा गराउँदा रु ४० करोड २० लाख बीमाङ्क रकम बराबरको पशुधन बीमा भएको थियो ।

यसरी पशुधन बीमा गराउँदा कुनै कारणले पशुको मृत्यु भएमा ९० प्रतिशतसम्म किसानले क्षतिपूर्ति पाउने भएकोले ठूलो क्षति हुनबाट जोगाउन सकिने हुँदा पशुधन बीमालाई प्राथामिकतामा राखिएको हो । मासु, अण्डा र दूधमा जिल्ला आत्मनिर्भर भई बाह्य जिल्लामा निर्यातसमेत गर्न थालिसकेको बताइएको छ ।

दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत किसानलाई प्रतिलिटर दूधमा साढे दुई रुपैयाँ अनुदान दिन थालिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ माघ २०७८, शुक्रबार  १७ : २१ बजे