दीगो विकासका लक्ष्य हासिल गर्न एमसिसी नेपालका लागि आवश्यक, अनुमोदनको पहल सकारात्मक: परिसंघ

0
Shares

लामो समयदेखि चर्चामा रहेको नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बीचको सम्झौता प्रतिनिधिसभामा टेबल भएको छ । २०७४ भाद्र २९ गते भएको नेपाल सरकार र एमसिसीबीचको सम्झौता संसदबाट अनुमोदन भइ कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा नेपाल उद्योग परिसंघले विश्वास व्यक्त गरेको छ ।

सम्झौता संसदबाट अनुमोदनका लागि आवश्यक पहल गर्नुहुने प्रधानमन्त्री एवं सम्पूर्ण राजनीतिक दलहरूमा धन्यवाद ज्ञापन गर्दछौँ । परिसंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ । नेपालको आर्थिक विकासमा रणनीतिक महत्व दिने विद्युत र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्वपूर्ण छ ।

लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दीगो आर्थिक विकासका आधार हुन सक्छन् । दीगो विकासका लक्ष्य हासिल गर्न र कोभिडपश्चातको आर्थिक पुनरोत्थानका लागि ठूलो लगानी चाहिन्छ । यसका लागि पनि एमसिसी जस्ता पूर्वाधार सहयोग परियोजना नेपालका लागि आवश्यक भएको परिसंघको भनाई छ ।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र सहायताको इतिहासमा अमेरिकासँगको सम्बन्ध ऐतिहासिक छ । नेपालले ७५ वर्ष लामो सम्बन्धमा अमेरिकाबाट प्राप्त भएका सहयोगबाट आर्थिक/सामाजिक विकासमा गुणात्मक फड्को मारेको छ । नेपालले दातृ निकायहरूबाट प्राप्त गरिरहेको विश्वास अभिवृद्धिमा एमसिसी सम्झौता कार्यान्वयनले थप टेवा दिनेछ भन्ने परिसंघको विश्वास छ ।

अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो । सन् २०२६ बाट नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपालमा उत्पादित वस्तुहरूको सहज निर्यातका लागि सौविध्यपूर्ण व्यवहारका लागि पनि नेपालले असल सम्बन्ध कायम गरिराख्नुपर्ने परिसंघको भनाई छ ।

हाल नेपालमा विदेशी मुद्रा सञ्चिति न्यून हुन गइ देश गम्भीर आर्थिक संकटोन्मुख भइरहेका बेला ठूलो राशीको सहायता कार्यान्वयन गर्न सक्दा त्यसले विदेशी विनिमय प्राप्तिमा पनि योगदान गर्छ । ५० करोड अमेरिकी डलरको सहायता परियोजना नेपालका आर्थिक वृद्धिका अवरोध हटाउन केन्द्रित छन् ।

सन् २०१४ मा गरिएको अध्ययनबाट प्राप्त भएका निश्कर्ष बमोजिम नै क्षेत्रगतरूपमा छनौट भएका आयोजनामा यो रकम खर्च हुनेछ । अमेरिकाको साथसाथै यसमा नेपाल सरकारले समेत १३ करोड अमेरिकी डलर खर्च गर्नेछ । आयोजना कार्यान्वयन प्रारम्भ भएको मितिले ५ वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने प्रावधानका कारण नेपालमा विकास व्यवस्थापनको नमूना समेत यस परियोजनाले प्रस्तुत गर्दछ ।

युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकले एमसिसी सहायतामा रूपान्तरणकारी आयोजना कार्यान्वयन गरी आफ्नो अर्थतन्त्रको गुणात्मक वृद्धि गरेका छन् । नेपालले यस परियोजना समयमै कार्यान्वयन गरी प्रविधि हस्तान्तरण, आयोजना कार्यान्वयन र विकास व्यवस्थापनमा नमूना प्रस्तुत गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

विकासमा राजनीति नगर्ने संकल्प प्रस्तुत गर्न सबै राजनीतिक दलहरुमा परिसंघले आग्रह गरेको छ । आम नेपाली जनतालाई विश्वासमा लिई समयमै आयोजना कार्यान्वयन गर्दै विकासको लाभ प्राप्तिको बाटोमा नेपाल सरकार अग्रसर हुनेछ भन्ने विश्वास परिसंघको छ ।