विश्वव्यापी स्टक मार्केटको वर्तमान अवस्था कायमै रहला ?

0
Shares

सुन्दा र भन्दा अपत्यारिलो सुनियता पनि स्टक मार्केटको लागि कोरोना भाइरस वरदान नै बन्यो । नेपालमा मात्रै नभई विश्व बजार मै विभिन्न वित्तीय संस्था, उद्योग, कलकारखाना देखि अधिकांश संघसंस्थाले सार्वजनिक निष्काशन (आइपीओ) जारी गरेका थिए र गरिरहेका छन् । जसबाट मनग्य रकम शेयर बजारमा भित्रिएको छ । जतिको मात्रामा लगानी भित्रियो त्यसकै अनुपातमा नव लगानीकर्ताहरु पनि सेयर बजार प्रवेश गरे ।

कोभिड–१९ संक्रमणको पहिलो र दोस्रो लहरबाट सारा संसार नै आतकिंत बन्यो । विश्व अर्थतन्त्रमा ठूलो असर पुग्यो । धेरै मानिसहरु बेरोजगार हुनु पर्यो । तर सबै समस्यामा परिरहेको बेलामा विश्वका अधिकांस सेयर बजार सूचक भने दिन प्रति दिन नयाँ उचाइ बनाउन भयो । कोरोनाको पहिलो र दोस्रो लहरले भयावित भएको अर्थतन्त्र कोभिड–१९को तेस्रो लहर आइपुग्दा मानव स्वस्थ्यमा प्रतिरक्षात्मक शक्ति वृद्धि भयो । मानिसहरु थप सुरक्षित र सावधान भएर सामान्य जीवन अर्थात् कोभिड आउनु भन्दा पहिलेको जीवन तर्फ लम्किँदै छन् । जसरी मानिसहरुको जीवन स्तरमा सकरात्मक परिवर्तन आउँदैछ, उसै गरी कोरोनाले शिथिल पारेको अर्थतन्त्रमा हरियाली छाउँदै छ । भर्खर भर्खर गति लिन खोज्दै गरेको अर्थतन्त्रको बाटोमा बाधक बनी आएको छ, मुद्रास्फीति ।

कोरोना संक्रमणकालमा मुलुकलाई आर्थिक रुपले कमजोर हुन नदिन हरेक देशका केन्द्रीय बैंक र सरकारले कोभिड विशेष स्टीमुलस जारी गरेका थिए । बैंकको औसत ब्याजदर न्यून तथा शून्य बनाएका थिए । बैंकिङ प्रणालीमा ठूलो मात्रामा तरलता प्रवाह गरेका थिए । यसले ब्याजदर घटाउन तथा अनुत्पादक क्षेत्रमा लगानी विस्तार ग्रयो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि सस्तो दरमा आक्रामक रुपमा कर्जा लगान िविस्तार गर्दा मूल्यवृद्धिमा दबाब पर्न गयो । केन्द्रीय बैंकहरुले मुद्रा बजारका लागि अबलम्बन गर्ने नीतिका कारण सेयर बजार कसरी प्रभावित हुन्छ, बुझौँ है त !

विश्व अर्थतन्त्रमै प्रभाव पार्ने अमेरिकी अर्थव्यवस्थालाई धरासायी हुनबाट जोगाउन र रोजगारी गुमाएका जनतालाई स्वरोजगार दिन अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले बैंकिङ प्रणालीमा भारी नगद प्रवाह गर्यो । औसत ब्याजदर पनि शून्य बनायो । बैंकिङ प्रणालीमा नगद प्रवाह र शून्य ब्याजदर भएसँगै नव लगानीकर्ताहरुले सेयर बजारमा लगानी गर्दा बजारमा हरियाली छायो । तर नगद प्रवाह धेरै हुँदा सम्पत्तिको मूल्यमा आएको वृद्धिले मुद्रास्फीतिलाई निमन्त्रणा दियो । ५० वर्ष यताकै उच्च विन्दुमा मुद्रास्फीति पुग्यो र त्यसैलाई नियन्त्रण गर्न अमेरिकी केन्द्र बैंकले ब्याजदर बढाउने प्रक्रिया अघि सारेको छ । फेडले ब्याज दर वृद्धि गर्ने भनेपछि सेयर बजारमा भालुको आक्रमण तीव्र भएरहेको छ । तर आत्तिनु पर्ने अवस्था भने छैन । फेडले ब्याज दर वृद्धि गरे पनि अरु केही त्यस्ता सबल पक्षहरु छन् जसले सेयर बजारमा हरियाली कायम गर्ने छन् । जस्तैः विश्वव्यापी अर्थतन्त्र बलियो बन्दै गएको छ ।

विभिन्न देशहरुले पछिल्लो समयमा नियन्त्रित मौद्रिक नीति अवलम्बन गरिरहेका छन् । तर देशको अर्थतन्त्रमा सकरात्मक सुधार आएको कारणले गर्दा सरकारका नियन्त्रित कदमहरुले ठूलो प्रभाव पार्दैन । फेडले नै मार्चमा औसत ब्याज वृद्धि गर्ने भनेको छ तर कोभिड संक्रमण न्यून हुँदै गएपछि सरकारी खर्चमा पनि वृद्धि हुने छ र आपूर्ति श्रृङ्खला पनि अवरुद्ध हुने छैन जसकारण शेयर बजारमा स्थिरता कायम नै रहने छ ।

यो अवधिमा पम्प–र–डम्प विधिको प्रयोग बढेको थियो । तर, पोस्ट–कोभिड समयमा लम्किदै गर्दा न्युन सम्भावना भएका कम्पनीहरु फिल्टर आउट हुँदै जाने छन् । यसो हुँदा बजारमा सम्भावित वृद्धि भएका कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्ने छ । अस्थिरतामा कमी आउने छ । शेयर बजारका सुखद पक्षहरुको बारेमा जान्दै गर्दा यस्का चुनौती तथा दुखद सम्भावनाको बारेमा अध्ययन गर्नु पनि आवश्यक हुन्छ । अब केही चुनौतीका बारेमा बुझौँ ।

१. ५२ वर्ष यताकै उत्कर्षमा पुगेको मुद्रास्फीति नियन्त्रणमा आउन समय लगाउनु

मुद्रास्फीतिलाई नियन्त्रणमा लिन केन्द्रीय बैंकहरुले ब्याज दर बढाउने निर्णय गरेका छन् । अमेरिकाको ७.५ प्रतिशत पुगेको मुद्रास्फीति २ प्रतिशतमा कायम हुन वर्षैँ लाग्ने स्पष्ट छ । जबसम्म मुद्रास्फीति कम हँदैन तब सम्म औसत ब्याज दर बढ्ने छ । यसले लगानीकर्ताहरुको मानसिकतामा असर पर्न सक्छ ।

२. कम्पनीहरुको नाफा तथा आमदानी कम हुनु

सेयर बजारमा कम्पनीहरुको मूल्याङकनमा वृद्धि भएता पनि विश्लेषकहरुकको औसत अनुमानको दायरामा कम्पनीहरु पुग्न सकेका छैनन् । जुन कम्पनीहरु विश्लेषकको अनुमानित दायरा नजिक पुगेका छन्, ती पनि सामान्य मार्जिनसम्म मात्रै पुगेका छन् । यसले ऐतिहासिक रुपमै महंगो रहेका सेयरहरुसँग तुलना गर्दा लगानीकर्ताहरुमा निराशा थप्न सक्छ ।

३.भू–राजनीतिक अस्थिरताः

देशको राजनीतिक अवस्थाले अर्थतन्त्र निर्धारण गर्छ । विश्वव्यापी रुपमा राजनीतिक मनमुटाव तथा दोन्द सिर्जना हुँदा यसले सेयर बजारमा पनि प्रभाव पार्छ । रुस–युक्रेनबीचको दोन्दले विश्व बजार मै नकरात्मक प्रभाव पारेको छ ।

अतः सेयरबजार थप व्यवस्थित तथा सुसज्जित हुदा सम्भावना र चुनौती समान छन् । आर्थिक मन्दी नआएको अवस्थामा सेयर बजारले अस्थायी रुपमा केही अस्थिरताको सामना गर्नु परेपनि दीर्घकालीन अवस्थामा सेयर बजार थप फस्टाउने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।