रुस-युक्रेन युद्धको असर नेपालसम्म, पेट्रोलियम पदार्थको मूल्य तत्काल नघट्ने

0
Shares

रुसी राष्ट्रपति भलामिदिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनमा विशेष सैनिक अप्रेशन गर्न आदेश दिएपछि विश्व इन्धन बजार नै प्रभावित भएको छ । दुई देशबीच युद्धले अन्तराष्ट्रय बजारमा इन्धनको माग आपूर्ति संयन्त्र खलबलिँदा मूल्य तत्काल नघट्ने भएको हो ।

युद्ध सुरु भएको चौथो दिनसम्म आइपुग्दा युद्ध झनै जटिल मोडमा पुगेको छ । रुस र युक्रेनबीच वार्ता हुन सकेको छैन् । बेलायत, अमेरिका, युरोपियन युनियन लगायत संसारभरीका राष्ट्रहरुले नै रुसको यस कदमको निन्दा गर्दै हवाइ तथा साइबर लगायतका आर्थिक क्षेत्रमा प्रतिबन्ध लगाईरहेका छन् ।

रुस पेट्रोलियम पदार्थहरुको उत्पादनमा तेस्रो ठूलो राष्ट्र हो । रुसले युरोपियन देशहरुमा मात्रै प्राकृृतिक ग्याँसमा ४० प्रतिशत र पेट्रोलियम पदार्थमा २५ प्रतिशत निर्यात गर्दै आएको छ । युरोप, बेलायत तथा अमेरिकाले लगाएका विविध प्रतिबन्धहरुलाई पालना गर्दै रुसले पनि आफूलाई बचाउ गर्न पेट्रोलियम पदार्थको आपूर्ति बन्द गरिदिएमा त्यसले युरोप, बेलायत, अमेरिका मात्रै नभई विश्वलाई नै प्रभाव पार्ने छ ।

रुस तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) मा मूख्य भुमिकामा छ । पेट्रोलियम पदार्थ लगायत प्राकृतिक ग्याँसहरुको उत्पादनमा अग्रणी रहेको रुसले युद्ध सुरु गरेपछि पेट्रोलियम पदार्थहरुको मूल्य आकासिएको छ । विभिन्न देशहरुले लगाएका आर्थिक प्रतिबन्ध र रसियाबाट जर्मनी आउने नर्ड स्ट्रीम-२ पाइपलाइन बन्द गरिदिँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्न पुगेको छ । विश्व पेट्रोलियम बजारमा रसियाको करिब १२ प्रतिशत हिस्सा रहेको छ । त्यसैगरी ग्याँसमा रसियाको योगदान करिब १७ प्रतिशत रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर देखा पर्न लागेको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । नेपाल तेल आयातमा पूर्णतया भारतमा निर्भर रहेको बताउँदै उनले भने, “भारतले पनि अरु देशबाट कच्चा तेल आयात गर्ने हुँदा, अन्तर्राष्ट्रिय बजारमा परेको असर भारतमा पर्ने र त्यसै प्रकारको असर नेपालमा नपर्ने भन्ने कुरै भएन ।” पेट्रोलियम पदार्थको मूल्यमा आएको वृद्धिले महङ्गी समेत बढाउने उनको भनाई छ । इन्धनको मूल्य वृद्धि हुँदा आयात पनि उच्च हुने तथा आम सर्वसाधारणको भान्छामा समेत असर गर्ने निश्चित छ ।

फागुन महिनाको मूल्यसूची अनुसार नेपाल आयल निगमलाई पेट्रोलमा प्रति लिटर १६.५९, डिजेलमा १२.९८ र एलपी ग्याँसमा ५६०.६४ रुपैँया घाटा लागेको छ । मट्टितेल र हवाई–इन्धन आन्तरिक र बाह्यमा क्रमशः २५.०६, ९.०३, ३९.९१ रुपैयाँ नाफा छ । गत १५ दिनको पेट्रोलियम खरिदमा मात्रै निगमलाई २ अर्ब ८ करोड घाटा भएको उपाध्यायले जानकारी दिए । मार्च १ गते भारतले नयाँ मूल्यसूची पठाउने हुँदा अहिले नै घाटामा रहेको आयल निगमको घाटा अझ बढ्ने आंकलन प्रवत्ताले गरेका छन् ।

भारतले युएई, दक्षिण कोरिया, साउदी–अरेबिया, सिङ्गापुर, मलेसिया, ओमन जस्ता देशहरुबाट कच्चा तेल आयात गर्ने गर्छ । दक्षिण कोरिया, सिङ्गापुर, जापानले रुसबाट कच्चा तेल आयात गर्ने र साउदी–अरेबिया ओपेग राष्ट्रमा सूचित भएको हुँदा रुस–युक्रेन युद्धले यी देशहरुको आपूर्ति श्रृङ्खलामा प्रभाव पारेको छ । जसकारण भारतको कच्चा तेल आयातमा अवरोध उत्पन्न हुन सक्ने अनुमान गरिएको छ । भारतमा आएको आपूर्ति अवरोधले नेपाली उपभोत्तामा समेत समस्या आउने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।