‘आईडिया टू आईपीओ’ मा ‘वान स्पट सोलुसन’ का हिसाबले सेवा दिन्छौंः एनआईसी एशिया क्यापिटलका सीईओ रायमाझी

0
Shares

रमेन्द्र रायमाझी, एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृतको भूमिकामा पछिल्लो तीन वर्षदेखि कार्यरत छन् । पूँजी बजारमा विशेष रुची राख्ने भएकाले नै बैंकिङ्ग क्षेत्रमा करियर सुरु गरेका रायमाझीले पछिल्लो ८ वर्षदेखि बैंकिङ्ग करियरबाट आफुलाई पूर्ण रुपमा पूँजी बजारका क्षेत्रमा आबद्ध गरेका छन् ।

कास्कीको पोखरामा जन्मिएर विद्यालयस्तर सम्मको अध्ययन पोखरामै गरेका रायमाझीले उच्च शिक्षा भारतको बैंगलोरमा लिएका हुन् । अध्ययनकै क्रममा स्थानीय वित्तीय संस्थामा काम सुरु गरेका रायमाझीले आधा दशक समय उक्त संस्थालाई दिए र आफ्नै भुमीमा केही गर्ने उदेश्यका साथ नेपाल फर्किए । तत्कालिन मनकामना डेभलपमेण्ट बैंकबाट नेपालमा करियर सुरु गरेका रायमाझीको नेतृत्वमा रहेको एनआईसी एशिया क्यापिटलले अन्य मर्चेन्ट बैंकरहरुको भन्दा पृथक सेवा दिने उदेश्यका साथ संस्थागत परामर्श सेवा अन्तर्गत एक महिनाअघि ‘आईडिया टू आईपीओ’ नामक नयाँ सेवाको सुरुवात गरेको छ ।

उक्त सेवाको बारेमा जानकारी दिन क्यापिटलले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेको छ । क्यापिटलले ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत संस्थागत व्यवसायिक अवधारणालाई नेपाली व्यवसायिक वातावरणमा स्थापित गराउने योजना सहित संस्थागत परामर्श, लगानी प्रबद्र्धन तथा कारोबारको दायरा विस्तारसँग सम्बन्धित कार्यहरु अगाडि बढाउने जनाएको छ । जहाँ कुनैपनि कम्पनी स्थापनाको सोच अर्थात आईडियादेखि सो कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरिदिने अर्थात आईपीओमा परिणत हुँदाको बखत रेगुलेटरी फ्रेमवर्क अन्तर्गत प्रबन्धपत्र, नियमावली लगायत अन्य कागजातहरु तयार गर्ने तथा व्यवसायिक लगानीकर्ता खोज्न सघाउ पुरयाउने कार्यहरु गरिने बताएको छ ।

त्यसैगरी ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत क्यापिटललेव्यवसायिक अवधारणालाई वास्तविकतामा परिणत गर्न आवश्यक पर्ने संस्थागत परामर्श सेवा लगायतका सम्पूर्ण कार्यहरुमा मर्चेन्ट बैंकरको रुपमा सघाउ पुर्याउने छ । याे सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनादेखि आईपीओ जारी गरेर सूचीकृत हुँदासम्मको कार्यलाई एकीकृत रुपमा एकै स्थानबाट सम्पूर्ण सेवा उपलब्ध गराउने समेत घोषणा गरेको छ ।

मर्चेन्ट बैंकरहरुले दिइरहेकाभन्दा विल्कुलै नयाँ सेवा सुरुवात गरेको बताउने सीईओ रायमाझीसँगै ‘आईडिया टू आईपीओ’ के हो ? यसले कसरी सेवा दिन्छ र यो सेवा लिँदा कसरी कम्पनीहरुलाई फाइदा पुग्छ भन्ने सम्बन्धमा नोटबजारले कुराकानी गरेको छ । प्रस्तुत छ रायमाझीसँगको कुराकानी ।

‘आईडिया टू आईपीओ’ भनेको के हो ?

‘आईडिया टू आईपीओ’ भनेको एउटा एनआईसी एशिया क्यापिटलले प्रदान गरिरहेको संस्थागत परामर्श सेवा अन्तर्गतको एउटा सेवा हो । संस्थागत परमर्श सेवा अन्तर्गत कुनैपनि कम्पनी स्थापना गर्नुभन्दा पहिला आईडिया हुन्छ । त्यो आइडिया भैसकेपछि उसले एउटा अर्गनाजेशनको रुपमा सेवा सुरुवात गर्दछ । यसरी कम्पनी सुरुवात गरिसकेपछि त्यो कम्पनी स्थापनका लागि चाहिने आवश्यक पूँजी आफ्नो पकेट, आफन्त साथीभाईहरुबाट जगेडा गरेको हुन्छ ।

यसरी कम्पनी स्थापना गरिसकेपछि कम्पनीलाई अगाडि बढाउनका लागि चाहिने फर्दर फण्डिङ्ग, एक्स्पान्सन अथवा रि ग्रोथका कुराहरु, मार्केटिङ्ग, टेक्नोलोजी इन्ह्यान्समेन्ट, म्यानुफ्यान्चरिङ्ग युनिटहरु थप्नुपर्ने होला, वा इलोक्ट्रोग्राफिकल एक्स्पान्सन गर्नुपर्ने हुनसक्छ ।
यसो गर्दा लगानीकर्ताले कहिले काँही गलत सल्लाह वा क्याल्कुलेसन भैरहेको हुनसक्छ । यसो हुँदा चाहिएकोभन्दा बढी वा कम लगानी गरिएको हुनसक्छ । यस्तो अवस्थामा एनआईसी एशिया क्यापिटलले सहि मात्रामा अधिकतम कति लगानी गर्नुपर्छ ? यसरी लगानी गरिसकेपछि अगाडि कसरी जाने भन्ने कुरा संस्थाागत परामर्शको सेवा मार्फत दिने गर्दछौं ।

यसरी बिजनेसको यात्रा गर्ने क्रममा कम्पनी स्थापनाका लागि आईडियादेखि आईपीओसम्म जाँदाखेरी सुरुमा बिउ पूँजी लगानी गर्ने होला, त्यसपछि एक्स्पान्सन, फर्दर एक्स्पान्सन, या मर्जर तथा एक्वीजिशन, एक्जिट स्ट्याटिजी होस् वा आईपीसँग चाहिने कुराहरुः जस्तै रेगुलेटरी रिक्यारमेन्ट, फाइनान्सिङ्ग कति चाहिन्छ, अगाडि बढ्न फिजिब्लिटी स्टडी, अथवा प्रोसेस बनाउने कुराहरु होला यस्ता समग्र कुराहरुलाई लिएर आईडियालाई मिनिमम पोडक्ट बनाउनका लागि हामी आईडियादेखि आईपीओसम्मको यात्रामा एउटा कम्पनीलाई चाहिने सेवा उपलब्ध गराउँछौं । जुन विना कुनै अवरोध र सहज तरिकाले अगाडि बढाउन सहयोग पुर्याउँछौं ।

‘आईडिया टू आईपीओ’ को सेवा लिन कम्पनीहरुले के के प्रकृया अपनाउनुपर्छ ?

‘आईडिया टू आईपीओ’ सेवा लिनका लागि हामीले त्यस्ता कम्पनीहरुको सहजताका लागि सम्पर्क नम्बरहरु उपलब्ध गराएका छौं ।
त्यसपछि हामीले सम्भावित प्रस्ताव आएका कम्पनीहरुसँग एक्सक्लुसिभ एग्रिमेन्ट गछौं । यसरी सम्झौता भइसकेपछि एउटा समयसीमा निर्धारण गरेर मायलस्टोन क्रियट गरेर सोही अनुसार अगाडि बढ्छौं ।

तपाईहरुको सेवामा जोडिएपछि परम्परागत सेवाभन्दा कम्पनीहरुले कसरी फरक सेवा पाउन सक्छन् र के फाइदा हुन्छ ?

यो किसिमको सेवा दिने नै हामी नै पहिलो मर्चेन्ट बैंकर हौं । यसमा कुनैपनि कम्पनी आबद्ध भैसकेपछि एक ठाउँमा गइसकेपछि हरेक कुराहरु जस्तोः परामर्श सेवा होस्, वित्तीय आवश्यकता होस्, वा रेगुलेटरी रिक्यायरमेन्ट, कम्प्लायन्स या आफ्नै कम्पनीभित्र भएको कमी कमजोरीहरु नियाल्ने, विश्लेषण गर्ने हिसाबले हामीले ‘वान स्पट सोलुसन’ को हिसाबले सबै सेवा दिन्छौं ।

त्यसपछि कम्पनी सञ्चालन गर्नका लागि कति नाफा आर्जन गर्नुपर्छ, त्यसको पोटेन्सियल एक्स्प्लोर गर्ने सेवा हामीबाट हुन्छ । यसो भैसक्दा कम्पनीलाई बजारमा आईपीओ मात्र जानु परेन, प्राइभेट प्लेसमेन्ट गर्दा पनि कम्पनीको मूल्य कति हो भनेर जान सकियो, साथी भाईमा इन्भेष्टमेन्ट खोज्नु र एउटा संस्थामा गएर प्राइभेट प्लेसमेन्ट खोज्नु भनेको कम्पनीले यो सेवाबाट उसको सहि मूल्य पाउँछ ।

यो सेवा कहिले देखि सुरु गर्नुभयो ? हालसम्म आबद्ध भएका कम्पनीहरुबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

हामीले यो सेवा सुरु गरेको एक महिना जति भयो । एक महिना अवधिमा हामीकहाँ थुप्रै कम्पनीहरुबाट चासो तथा जिज्ञासा आएका छन् । त्यसमा ४ वटा आईडिया वाला कम्पनी आबद्ध भैसकेका छन् । त्यस्तै आईपीओमा जाने किसिमका दुईवटा कम्पनी रहेका छन् ।
अहिलेसम्मको सोधपुछको अवस्था हेर्ने हो भने धेरै नै रहेका छन् । तीमध्ये हालसम्म सम्झौता भएर काम गर्ने हिसाबले नै १२ देखि १५ वटा कम्पनीहरुसँग प्रकृया अगाडि बढिसकेको अवस्था छ ।

‘आईडिया टू आईपीओ’ सेवामा जोडिन चाहने कम्पनीहरुलाई के भन्न चाहनुहुन्छ ?

म आउने कम्पनीहरुलाई हामीले सोचेका मिथहरु जतिपनि रहेका छन्, आईपीओ जारी गर्नका लागि अंकित मूल्य एक सय रुपैयाँमा नै जानुपर्छ भन्ने, या आईपीओ जारी गर्दा लाग्ने लागत उच्च छ भन्ने या आईपीओमा जानका लागि लामो प्रकृया छ भन्ने होला अथवा आईपीओमा जाँदा आफ्नो कम्पनी डायलुट हुन्छ वा आफ्नो स्वामित्व घट्छ भन्ने मिथहरु छन् भने त्यस्तो छैन ।

अबको दिनमा आईपीओमा जानु अथवा पब्लिकमा जानु भएको त्यसले खर्चहरुलाई नियमितता र स्तरिकरण गर्नमा सहयोग पुर्याउँछ । रेगुलेटरी रिक्यारमेन्टले गर्दा कम्पनी सञ्चालनमा पारदर्शीता आउँछ । अझै कम्पनीको प्रतिष्ठामा वृद्धि हुन्छ र कम्पनीले सहि मूल्य पनि पाउँछ । यसो हुँदा कम्पनीमा रहेको सुप्त गुणहरू वा क्षमताहरू विकसित हुन सक्छ र भविष्यको सफलता वा उपयोगिताको लागि नेतृत्व गर्नका लागि सक्षम र क्षमतावान व्यक्तिहरु हायर गर्नसक्छ ।

यसले समग्रमा कम्पनीलाई राम्रो गर्छ । म हामीसँग जोडिन चाहने कम्पनीहरुलाई के आग्रह गर्छु भने तपाइहरुले के के सेवा छ भनेर हेरेर नियाल्नुहोस्, तपाईहरुलाई विश्वस्त गराउन काम हाम्रो हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।