बीमा सर्भेयर र अभिकर्ताको इजाजतपत्रको नवीकरण डिजिटल माध्यमबाटै गर्न सकिने

0
Shares

बीमा समितिले बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न शुरु गरेको छ ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज ललितपुरको कुपण्डोलस्थित समितिको कार्यालयमा बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीरकण गर्ने कार्यको शुभारम्भ गरेका हुन ।

त्यस अवसरमा अध्यक्ष सिलवालले देशका विभिन्न स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले अब आफू रहेकै स्थानबाट डिजिटल माध्यमबाट आफ्नो इजाजतपत्रको नबीकरण गर्न पाउने अवसर उपलब्ध भएको बताए ।

अध्यक्ष सिलवालले देशका पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म छरिएर रहेका झण्डै तीन लाखको सङ्यामा रहेका बीमा अभिकर्ताले डिजिटल माध्यमबाट नै इजाजतपत्र नबीकरण गर्न पाउने भएबाट बीमाको पहुँच विस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली संचालकको अनुमतीप्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेडको कनेक्ट आईपिएस मार्फत डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने दस्तूर बीमा समितिको खातामा बुझाएर बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न सक्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।

अनलाइन प्रणालीमार्फत बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण कार्यको शुरूवात भएसँगै इजाजतपत्र नवीकरणका लागि बीमा समितिमा आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब देशभरका जुनसुकै स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले आफू रहेको स्थानबाट नै अनलाइन प्रणालीबाट इजाजतपत्र नबीकरणका लागि लाग्ने शुल्क बुझाउन र अनलाइनबाटनै इजाजतपत्र नबीकरण भएको जानकारी प्राप्त गर्न सक्ने समितिले जनाएको छ ।

हाल देशभरमा गरी नवीकरण योग्य बीमा सर्भेयरको संख्या करिव एक हजार दुईसय पचास र बीमा अभिकर्ताको संख्या करिव तीन लाख रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।