डिजिटल माध्यमबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण हुने


बीमा समिति अन्तर्गत बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण डिजिटल माध्यमबाट हुने गरी सो सेवाको सुरुवात भएको छ । एक औपचारिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले उक्त सेवाको सुरुवात गरेका हुन् । यस अन्तर्गत अब समितिलाई गरिने वार्षिक इजाजत पत्र नवीकरणको भुक्तानीका निम्ति काउन्टरमा लाईन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाइनबाट नै एनसीएचएलको कनेक्टआइपीएस तथा कर्पोरेट पे प्रणालीहरु मार्फत आफ्नो बैंक÷वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सकिने भएको छ ।

विद्युतीय माध्यमबाट नवीकरण शुल्क लगायतका भुक्तानी सम्बन्धी कारोबारहरु नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट गर्न केही समय अघि बीमा समितिले एनसीएचएलसँग नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने सम्झौता भएको थियो ।

उक्त सम्झौता अनुरुप पहिलो चरणमा अभिकर्ता तथा सर्भेयरको इजाजत पत्र नवीकरणको भुक्तानी सेवा अनलाइनबाट गर्न सकिने भएको छ भने, पछिल्लो चरणमा समितिका सेवा शुल्क, बीमा कम्पनी दर्ता तथा वार्षिक नवीकरण शुल्क, बीमा सभेर्यर तथा अभिकर्ता दर्ता, प्रमाणपत्र तथा तालिम शुल्क, तलब, भेण्डर भुक्तानी लगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्ने गरी कार्य अघि बढाइएको क्लियरिङ हाउसले जनाएको छ । एनसीएचएलमा आबद्ध भुक्तानी सेवा प्रदायकका वालेटबाट समेत उक्त भुक्तानी गर्न मिल्ने गरी नेशनल पेमेण्ट गेटवेमा जोडिने काम भईरहेको पनि क्लियरिङ हाउसले जनाएको छ । यसले समितिका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ ।

२०४९ देखि बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकास र नियमन गर्दै आइरहेको बीमा समितिको डिजिटलाईजेनको यस कदमले समितिको सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्याउने विश्वासका साथै यसलाई डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्वपूर्ण कोषे ढुङ्गाको रुपमा लिइएको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरीएको एनपीआई सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८७ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।