कृषिको उत्पादन नबढ्नुको कारण किसानले ऋण नपाउनु हो : भरतराज ढकाल


मुक्तिनाथ विकास बैंकको व्यवस्थापन प्रमुखबाट बाहिरिएका भरतराज ढकाल अहिले बैंककै सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीलाई स्थापित गर्न केन्द्रित छन् । मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष रहेका ढकाल बैंकको पनि अध्यक्ष हुन् । डेभलपमेन्ट बैंकर्स संघका पूर्व अध्यक्ष समेत रहेका ढकाल मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी भएर १२ वर्ष सेवा गरे । शैक्षिक रुपमा व्यवसायिक प्रशासनमा स्नाकोत्तर गरेका ढकाल समाजसेवी पनि हुन् ।

कृषिमा प्रविधि र मेसीनरीलाई प्रयोग नगरेसम्म उत्पादकत्व नबढ्ने बताउने ढकाल युवाहरुलाई कृषिमा आकर्षित नगर्दासम्म यो क्षेत्र दिगो भएर नजाने बताउँछन् । ढकालका अनुसार कृषि क्षेत्रमा काम गर्न थालेको डेढ वर्षको अवधिमै करिब ५० हजार किसानसँग सहकार्य भैसकेको छ । सर्वसाधारणको समेत सहभागिता गराउन कम्पनीले साधारण सेयर निष्कासनको तयारी गरिहेको बताउने ढकालसँग मुक्तिनाथ कृषि कम्पनीको आगामी योजना तथा समग्र कृषि क्षेत्रका अवसर र चुनौतिका विषयमा नोटबजारका परमेश्वर अधिकारीले गरेको कुराकानी :

चौतर्फी बहस भईरहँदा पनि व्यवसायिक कृषि हुन नसक्नुलाई कसरी लिनुहुन्छ ?

पहिले हामीले परिवारको आवश्यकताका लागि मात्र कृषिको काम गर्दै आएको अवस्था हो । त्यसो गर्दा हामीले आफूलाई चाहिने मात्रामा मात्र कृषि उपज उत्पादन गथ्र्यौं । हिजोको दिनमा खर्चका दायराहरु निकै कम थिए । व्यापारिक क्रियाकलापमा सीमित व्यक्तिको मात्र पहुँच थियो । जसले गर्दा निर्वाहमूखी कृषि गर्दा पनि चल्थ्यो । तर पछिल्लो समयमा बढ्दो प्रविधिले प्रयोगले खर्चका दायराहरु बढाएको छ । खर्चका दायरा विस्तार भएसँगै वस्तु तथा बजारको सहज पहुँच हुन थालेपछि आम्दानीको स्रोत पनि सोही अनुपातमा बढाउनुपर्ने भयो । आम्दानीको स्रोत बढाउन कि व्यवसाय गर्नुपर्यो कि त रोजगारी गर्नुपर्‍याे ।

एउटा बच्चा जन्मिएर किशोरावस्था पार गर्दासम्म घर परिवारले पालपोषण गर्छ । उमेर पुगे पछि आफैँ आत्मनिर्भर बन् भन्ने हो भने उसलाई तत्काल स्रोतको अवश्यकता पर्छ । उसले आम्दानीको बाटो पनि पहिल्याउनुपर्छ । यो अवस्थामा उसले व्यवसाय वा रोजगारी गर्नुपर्यो । अहिलेको हाम्रो अवस्थाले दुबै कुरालाई समर्थन गर्दैन । यता सरकारले विकास निर्माणको प्रतिवेदन सार्वजनिक गर्दै निर्माण सम्पन्न भएको सडकको दूरी, विद्यालय, स्वास्थ्य संस्था वा अरु पुर्वाधार तथा सेवा सुविधाको कुरा गरिरहेको हुन्छ । त्यो युवा जो, स्रोतको खोजीमा छ, उसले जागिर पनि पाउँदैन र व्यवसाय पनि गर्न पाउँदैन भने त्यस्तो बेला सरकारले गरेका विकास निर्माणको विषयमा उसलाई कुनै मतलब हुँदैन ।

मैले जोड्न खाजेको विषय के हो भने व्यवसायिक कृषिमा लाग्नका लागि आधारभुत पक्षमा समेत हामीले काम गर्न नसकेका कारण चाहना भएका तर वातावरण नपाएका व्यक्तिहरु कृषिको व्यवसायिकरणमा आउन सकिरहेका छैनन् ।

कृषि प्रधान देशमा कम्तिमा यही क्षेत्रमा केही गर्छु भन्नेहरुलाई प्रोत्साहन गर्ने वातावरण मात्र हामीले बनाउन सक्ने हो भने व्यवसायिक कृषिमा लाग्नेहरुको लहर चल्न सक्छ । अहिले निर्वाहमूखी कृषि पनि छोडेर खर्च जुटाउने चटारोमा भौंतारी रहेको जनशक्तिलाई केही गरेनौं वा गर्न सकेनौं भन्नु भन्दा पनि अभिभावकत्व निर्वाह गर्ने संयन्त्र मात्र भईदिने हो भने पनि नतिजा देखिन थाल्छ ।

यति भन्दै गर्दा व्यवसायिक कृषिको काम नै भएको छैन भन्न मिल्दैन । सानो आकारमा छरिएर देशका विभिन्न भागमा व्यवसायिक कृषिमा लाग्नेहरु पनि हुनुहुन्छ । यसले पनि कृषिको व्यवसायिकरणमा बाटो पहिल्याउने काम भईरहेको छ ।

सरकारी तवबरबाट कृषिको व्यवसायीकरणमा के कति पहल भएको जस्तो लाग्छ ?

सरकारले एकदमै सीमित कुराहरु मात्र गर्न सक्छ । त्यो भनेको नीति निर्माणमा महत्वपूर्ण भूमिका रहन्छ । निजी क्षेत्रको तुलनामा सरकारसँग धेरै काम गर्ने स्रोत साधन हुँदैन र उसले आफैँले काम गर्ने पनि होइन । सरकारको व्यवस्थापन गर्ने क्षमता पनि कमजोर हुन्छ । सरकारले सञ्चालन गरेका र निजी क्षेत्रले चलाएका संस्थाहरु हेर्ने हो भने त्यसको प्रभावकारीता तथा गुणस्तरीयतामा धेरै फरक छ । त्यस कारण व्यवसायिक कृषिको काम निजी क्षेत्रले गर्ने हो । संगठित रुपमा गर्दा यस्ता कामको नतिजा पनि सोही अनुसार देखिन्छ ।

विडम्बना के हो भने व्यवसायिक कृषिका कुरा त हुन्छ । तर, सरकारले यसमा के कसरी कामहरु गर्ने भन्ने कुराहरु कहिल्यै सिकाएन । सरकारमा बस्ने मान्छेले सस्तो कुरा गर्न मात्र सिकाए । यसले मान्छेको जीवनलाई प्रभावकारी बनाउन सक्दैन । हामीले सुरुदेखि नै रोजगारी सिर्जना गर्ने कामहरु गर्न सकेको भए अहिले नेपालको अर्थतन्त्र धेरै माथि पुग्थ्यो । यसमा आशावादी हुने मात्र हो, काम आफैँले गर्ने हो ।

कृषिबाट नै जीवनस्तर उकास्ने काममा सक्रिय रुपमा लाग्नेहरु थोरै भए पनि उत्साहित छैनन् नि ?

हामीले विगतलाई हेर्ने हो भने जतिवेला राजनितीक द्धन्द्ध र राजनितिक परिवर्तन भयो, त्यसपछि गाउँका यूवाहरु सहर पस्न थाले । सहरमा रोजगारी नपाइने भएपछि विदेश गएर पैसा पठाउन थाले । पैसा आउन थालेपछि हामी उत्पादन गर्न छाड्यौं र किनेर खान थाल्यौं ।

उद्योगीहरु व्यापारी बन्न थाले, सबै जनता तथा कृषकहरु उपभोगी हुन थाले, विलासी जीवन जिउन थाले । नेपालमा विदेशी पैसा आउन थालेपछि सामान्य जिविकोपार्जन गरेर गाउँमा बसेका मान्छेको जीवनशैलिमा पनि अस्वभाविक परिवर्तन देखिन थाल्यो । खरको छानो टिनमा बदलियो, सरकारी विद्यालयमा पढ्नेहरु निजी विद्यालय जान थाले । यसले आर्थिक कृयाकलाप बढाए पनि उत्पादकत्व घटायो । यसमा परम्परागत कृषि नै धरापमा परेको देखिन्छ भने सीमित मात्रामा व्यवसायिक कृषिमा लाग्नेहरु अघि बढिरहेको अवस्था हो ।

उपभोगमूखी अर्थ व्यवस्थालाई राज्यले प्रोत्साहित गर्दै जाँदाको नतिजा तपाईले गर्नु भएको प्रश्नको जवाफ हो भन्ने मलाई लाग्छ । राजस्व बढ्न थालेपछि सरकार एकदमै खुसी भयो, यता गरिब मान्छेको जीवनस्तरमा पनि परिवर्तन आयो । तर, आज भन्दा २० वर्ष अघिको व्यापार घाटा र बजेट हेर्ने हो भने प्रत्येक वर्ष बढिरहेको छ । त्यसलाई रेमिट्यान्सले धानेको थियो । अहिले अवस्था अलि असहज छ ।सुरुवाती दिनदेखि नै अर्थव्यवस्थाका आधारहरु कसरी सबल बनाउने भन्ने नीति अबलम्बन नगरी जसरी भए पनि राजश्व उठाउने नीतिमा लाग्दा समस्या आएको हो । समस्या आएपछि मात्र व्यवसायिकता र उत्पादकत्वको कुरा गर्दा त्यसको नतिजा आउन त समय लाग्छ होला नि ?

अस्वभाविक रुपमा नेपालीहरुको जीवनशैलीमा परिवर्तन आउँदै गर्दा अर्थतन्त्र सही गतिमा अगाडि बढेको छैन् । रेमिट्यान्स्लाई रातारात बढाउन पनि त्यही अनुसार रोजगारी सिर्जना हुनुपर्‍याे, विदेशमा युवा जानुपर्‍याे, तर अवस्था सँधै एकनास हुँदैन । व्यवसायिक कृषिका माध्यमबाट उत्पादकत्व बढाउन थाल्ने हो भने अरु उपकरणको आश गर्नु पर्ने अवस्था आउँदैन ।

अहिलेको सन्दर्भमा पनि राष्ट्र बैंकको नीतिले गर्दा आयात रोकिएला र अवस्था केही सहज होला भन्ने हो । तर आयातको एउटा हिस्सा त कृषि उपजमा नै केन्द्रित छ । खाद्यान्न भन्दा महत्वपूर्ण विषय अरु हुनै सक्दैन । तसर्थ अब मुलुकमा नै कृषि उपजको उत्पादन अहिलेको पहिलो प्राथमिकता हो, यसो गर्न पहकदमी लिने हो भने आयातको ठूलो हिस्सा आफैँ घट्छ । सबैभन्दा बढी रोजगारी सिर्जना हुने क्षेत्र भएकाले पनि यसमा लाग्नु जरुरी छ ।

किसानको नजरमा कृषिमा लगानी र कर्जाको उपलब्धता कत्तिको सजिलो छ ?

म मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी हुँदाको अनुभव के हो भने कृषिको उत्पादन नबढ्नुमा किसानले ऋण नपाउनु हो । राज्यले बुझाएको पनि यही हो । त्यही बेला राज्यले बैंकहरुलाई कृषिमा निश्चित प्रतिशत लगानी अनिवार्य पनि गर्‍याे । त्यस पछि चाँही के भयो त ?

व्यापारी, व्यवसायीहरु, राष्ट्र बैंकले बैंक लगायतले कृषिमा लगानी नभएका कारण नै कृषिमा उत्पादन बढेन भन्ने गरेका छन् । तर, पछिल्लो क्रममा हेर्ने हो तथ्यांकले कृषिमा फराकिलो अन्तरले लगानी बढेको देखिन्छ । त्यही तथ्याङ्क हेर्ने हो भने कृषि उपजको आयात पनि त्यसै गरी बढेको देखिन्छ । अब भन्नु लगानीको सदुपयोग कहाँ भयो ? कि त हामीले कृषिमा गरेको लगानी सही ठाउामा पुगेकै छैन कि त राज्यको तथ्यांक नै गलत छ ।

मैले भन्न खाजेको के हो भने आजका दिनसम्म पनि किसानले कृषि गर्न कै लागि सहज रुपमा लगानी जुटाउन सकेका छैनन्, कर्जा लक्षित वर्गसम्म पुगेको छैन । यो अवस्थालाई लगानीका दृष्टिकोणले सहज अवस्था भन्न सकिँदैन ।

मुक्तिनाथ कृषि कम्पनीको अवधारणा कसरी आयो ?

आज भन्दा करिब १० वर्ष अघि मुक्तिनाथ विकास बैंकमा काम गर्दै गर्दा नेपालको कृषिको उत्पादन बढाउनका लागि पूँजीले मात्र नहुने रहेछ भन्ने कुरा बुझियो । उत्पादनसँगग सम्बन्धित कुराहरु, कृषि औजार, मल, बिउ, लगायत बजारको सुनिश्चितता नभएसम्म नेपालमा कृषिको उत्पादन नबढ्ने देखेपछि हामीले मुक्तिनाथ कृषि कम्पनीको अवधारणा अघि सारेका हौं ।

कृषिमा प्रविधि र मेसिनरीलाई प्रयोग नगरेसम्म यसको उत्पादकत्व बढ्दैन र जबसम्म हामीले युवाहरुलाई कृषिमा आकर्षित गर्न सक्दैनौं तबसम्म यो क्षेत्र दिगो भएर जान सक्दैन भनेर मुक्तिनाथ विकास बैंकको मुख्य लगानीमा मुक्तिनाथ कृषि कम्पनी स्थापना गरेका हौं । यो कम्पनी नेपालको कृषि क्षेत्रमा काम गर्ने पहिलो कृषि कम्पनी हो ।

दातृ निकायहरुले नेपालमा कृषिमा अर्बौं रुपैयाँ लगानी गरेको अवस्थामा कृषिमा चुनौतीसँगै अवसर छ भन्ने भएर नै जोखिम मोलेर कम्पनीको अवधारणा अघि सारिएको हो । कृषि सम्बन्धि कम्पनीको नियामक नभएको अवस्थामा हामीलाई कतिपय कामहरुमा असहज अवस्था बनेको छ ।

८६३ जना लगानीकर्ताको लगानीमा स्थापित कम्पनीको चुक्ता पूँजी ३६ करोड रुपैयाँ छ । साधारण सेयर निष्काशनको प्रकृया अघि बढिसकेको छ । ४ करोड रुपैयाँको सयर निष्काशन पश्चात कम्पनीको पूँजी ४० करोड पुग्छ । त्यसमा २५ प्रतिशत लगानी मुक्तिनाथ विकास बैंकको रहेको छ ।

यसको रिजनल अफिस पोखरामा स्थापना भएको छ । हामीले पहिलो पाँच वर्षे रणनितिक योजना बनाएर काम गरिरहेका छौं । कृषि र अर्थशास्त्र अध्ययन गरेका विज्ञहरुसहित गरी अहिले ६० जनाभन्दा धेरै कर्मचारीहरुले काम गरिरहनु भएको छ ।

कसरी काम गरिरहनु भएको छ ?

कम्पनीले किसानहरुलाई उत्पादन पूर्वका कृषि सामाग्रीहरु सर्वसुलभ दरमा उनीहरुको घर दैलोम उपलब्ध गराउने संयन्त्रको विकास गरिरहेको छ । यसका लागि विभिन्न माध्यमबाट किसानहरु कम्पनीमा आबद्ध भईरहनु भएको छ । यो कम्पनी आफैँ कृषि उपज उत्पादन गर्ने संस्था होइन । किसानहरुलाई आवश्यक सामग्री, मल, प्रविधिको लागि समयन्त्र तयार गर्दै छौं । अहिले हामीसँग ३०० प्रकारका बिउ तथा मल उपलब्ध छन् ।

हामीसँग आवद्ध किसानहरुलाई उत्पादनका समयमा चाहिने वस्तु तथा सेवा स्थलगत रुपमा वा भर्चुअल रुपमा बुझेर उपलब्ध गराउँदै आएका छौं । समग्रमा भन्दा दुई किसिमले किसानहरुलाई हामीले सहजीकरण गर्दै आएका छौं, पहिलो भनेको उत्पादनको समयमा प्राविधिक सेवा दिएका छौं भने उत्पादन पश्चात बजारीकरणको काम हामीले नै गर्दै आएका छौं । कलेक्सन, क्लिनिङ, ग्रेडिङ लगायतका काम गरेर किसानले बजारसम्म जानु नपर्ने गरी गरिरहेको काम क्रमिक रुपमा बिस्तार भईरहेको छ । किसानहरुले काम गर्दाको लागतका सम्बन्धमा जानकारी दिने, सचेतना बिस्तार गरी कृषिमा प्रोत्साहित गर्ने काम पनि भईरहेको छ ।

कृषि उद्यम गर्न चाहने तर ज्ञान नभएकाहरुलाई प्रशिक्षण दिने, उनीहरुलाई आवश्यक वातावरण बनाइदिने, बिउ, मल, प्रविधि लगायत पनि उपलब्ध गराउँदै आएका छौं । कृषिका सम्भावना र जोखिम तथा हरेक कुरा सिकाउनका लागी हामीले पुस्तिका नै तयार पारेका छौं ।

तपाईहरुसँग जोडिने किसानहरुको संख्या कति छ ?

कम्पनी स्थापना भएको ३ वर्ष भए पनि सक्रिय रुपमा कम्पनीले काम थालेको डेढ वर्ष भयो । यो अवधिमा मुलुकभरका ५० हजार बढी किसान हामीसँग आबद्ध भएको तथ्यांक छ । हाम्रो कार्यक्रमको उदेश्य भनेको शहर केन्द्रीत मात्र नभएर देशका हरेक जिल्लामा कम्तिमा एउटा श्रोत केन्द्र हुनुपर्छ भन्ने उद्धेश्य राखेका छौं । यो अवधारणमा हामी देशका ४० भन्दा बढी स्थानमा पुगिसकेका छौं ।

सहकारी संस्थाहरुलाई पनि कृषि सम्बन्धि काममा आबद्ध गराउँदै जाने योजना अनुरुप काम भईरहेको छ । अहिले बचत तथा ऋण सहकारी संस्थाहरुको कार्यक्षेत्र थोरै भएको अनुभव गरिएको अवस्थामा राज्यले पनि निगरानीमा राख्दा काम गर्नै पर्ने दवाब छ । यस्ता संस्था मार्फत कृषि र उपभोक्तालाई जोड्नका लागि पनि हामीले काम गरिरहेका छौं ।

नतिजा आजको भोलि नै देखिने नभई क्रमिक रुपमा देखिँदै जानेमा हामी विश्वस्त छौं ।

आगामी दिनमा कम्पनीको काम र कार्यक्षेत्र पनि विस्तार गर्नु हुन्छ होला नि ?

अबको २ बर्षमा प्रत्येक प्रदेशमा कार्यालय स्थापना गरी नमुनाको रुपमा शोरुम, रिर्सचर, मार्केटिङ गर्ने कर्मचारी हुन्छन् । कृषिका विभिन्न क्षेत्रलाई विशिष्टिकरण गर्ने गर्छ र हाम्रो हालको तयारी भने १६ वटा मोडल कृषि फारम खोल्ने हो । हाल स्याङजामा एउटा फारम सञ्चालनमा छ भने त्यसलाई विस्तार गर्दैछौं । यस्ता मोडेल फारममा विउ विजन, नर्सरीहरु वितरण गरिन्छ । तत्काल तराई र पहाडमा एक एक वटा मोडेल फारमको मास्टर तयारी भईसकेको छ । यसले कृषकहरुलाई कृषि फारम कसरी चलाउने, खेती कसरी गर्ने लगायत कृषिसँग सम्बन्धित सबै कुरा सिक्ने अवसर समेत हुनेछ ।

हाम्रो मुख्य योजना भनेको हामी आफैँ उत्पादनमा लाग्नु भन्दा पनि कृषकहरुको उत्पादन बढाउनु हो । सबैभन्दा धेरै सम्मान किसानलाई गर्ने भन्ने हो ।

किसानले ऋण नपाउने समस्या तपाईले नै उजागर गरिसक्नु भएको छ । कम्पनीमा आबद्ध किसानलाई मुक्तिनाथ विकास बैंक मार्फत कर्जा पनि उपलब्ध गराउने योजना छ कि अरु कुनै संयन्त्रमा पनि काम गर्दै हुनुहुन्छ ?

अहिले हामीले रिसर्च गर्दा पनि लगानी र बजारमा समस्या आईरहेको पाएका छौं । पहिलो प्राथमिकतामा परे पनि मुक्तिनाथ विकास बैंकले मात्र सबै किसानलाई कर्जा दिने सामथ्र्य नराख्न सक्छ । यस्तो अवस्थामा उसका नजिकका बैंकहरु मार्फत कम्पनीमा आबद्ध वास्तविक कृषष्लाई कर्जा उपलब्ध गराउन रचनात्मक भूमिका निर्वाह गर्छौं । नेपालमा नभएको अर्को प्रयास पनि गर्दैछाैं । हामीले ऋण प्रवाह गर्दा त्यसको उद्देश्य तथा फाईदाको योजना समेत अनुमान गरेर ऋण प्रवाह गर्ने योजना छ ।

बैंक र यो कृषि कम्पनीको नेतृत्वमा बस्दाको अनुभव कति फरक हुने रहेछ ?

बैंकमा काम गर्दा प्रतिस्पर्धात्मक रुपमा काम गर्नुपर्ने, तीन तीन महिनामा व्यालेन्स सिट तयार गर्नुपर्ने कुराले प्रेसरको रुपमा काम गरियो । तर मुक्तिनाथ विकास बैंकलाई मैले केही हदसम्म सुधार भने पक्कै गरेको छु ।

यता कृषि क्षेत्रमा कुनै नियामक निकाय छैन, कुनै योजना छैन, कुनै प्रतिस्पर्धा पनि छैन, कम्पनीमा कुनै अप्ठारो छैन । बैंकमा समय समयमा विभिन्न नीतिहरु आउने बैंक नै मर्ज हुनुपर्नेसम्म हुन्छ । यो कृषि क्षेत्र ठूलो क्षेत्र पनि यसमा नाम पनि कमाउन सकिन्छ । देशको लागी आर्थिक रुपमा समेत सहयोग गर्न पनि पाइयो । अरु धेरै अनुभव त अझै बटुल्नै बाँकी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ चैत २०७८, मंगलबार  २० : ५९ बजे