रुस छाडेर गएका कम्पनीहरुले के बीमाबाट घाटा व्यवस्थापन गर्न सक्लान् ?

0
Shares

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि सयौंको संख्यामा बहु-राष्ट्रिय कम्पनीहरुले आफ्नो सेवा सञ्चालन गर्न बन्द गरेका छन् । उर्जा उत्पादक शेलका साथै कारमेकर कम्पनी हुण्डाई तथा ग्लोबल प्रोफेसनल फर्म पीडब्लुसी लगायतका सयौं कम्पनीहरुले रुसमा आफ्नो सेवा बन्द गरेका छन् ।

यसरी सेवा बन्द गरेका कम्पनीहरुको घाटा कसले व्यवस्थापन गर्ने भन्ने प्रश्न जल्दोबल्दो बनेको छ । यी कम्पनीहरुको घाटा व्यवस्थापन गर्ने निकाय भनेको बीमा कम्पनी र अन्तर्राष्ट्रिय मध्यस्थता रहेका छन् । तर, के बीमा कम्पनीहरुले अर्बौं डलर नोक्सानको क्षतिपूर्ति दिन सक्ला त ? निर्जीवन बीमा मध्येका हवाई बीमा, समुद्री बीमा, राजनीतिक जोखिम बीमा (पीआरआई), व्यापार घाटा बीमाले पनि पूर्ण क्षतिपूर्ति दिन नसक्ने विश्लेषकहरुको भनाई छ ।

कम्पनीहरुले राजनीतिक जोखिम बीमा पोलिसी खरिद गरेको भए त्यसले केही सहज हुने विश्लेषकहरु बताउँछन् । सरकारी द्धन्दका कारण जबरजस्ती सम्पत्तिको जफत तथा त्याग बापतको बीमा, सरकारी इजाजतपत्र लिई सञ्चालन गरिएको कम्पनीहरुको प्रतिबन्ध बापतको बीमा तथा कुनै पनि राज्य विदेशी विनिमय गर्न असमर्थ रह्यो भने त्यस अन्तर्गतको बीमा राजनीतिक जोखिम बीमामा पर्दछ । यस बीमाले दीर्घकालीन रुपमा सञ्चालनमा आएका विकास पूर्वाधार तथा उर्जा सम्बन्धी योजनाहरुको क्षतिपूर्ति पनि व्यहोर्ने गर्छ । यी पोलिसीहरु गोप्य रुपमा राखिने र राजनीतिक जोखिम बीमा अन्तर्गत माथि उल्लेखित घटनाहरुको क्षतिपूर्ति नीजि मध्यस्थता अन्तर्गत पाउन सकिने बीमाविदहरुको भनाइ छ ।

राजनीतिक जोखिम बीमाकर्ताहरुको प्रतिनिधित्व गर्ने बर्न युनियनले आंकलन गरेको डाटा अनुसार सन् २०२० मा नै रसियामा १ अर्ब बढी नव राजनीति जोखिम सम्बन्धी बीमाहरु लेखिएको थियो ।

के युद्धको समयमा रुस त्याग गरेका कम्पनीहरु तथा सेवा बन्द गरेका कम्पनीहरुले यी पोलिसीहरुको बीमा रकम क्षतिपूर्ति वापत पाउलान् त ? न्यायविदहरु भन्छन्, “कम्पनीहरुको सम्पत्तिलाई रुसले हत्याएको पनि छैन । कम्पनीहरु युक्रेनलाई सहायता गर्न रुस छाडिरहेका छन् । यस्तो बखतमा देशमा सेवा प्रदान गर्न बन्द गरेका कम्पनीहरुले बीमा दाबी गरेपनि नपाउने सम्भावना उच्च रहेको छ । ”

ह्यान्स एन्ड बून ल फर्मका मिका किडमोर भन्छन् , “कम्पनीहरु युक्रेनको पक्ष लिएर देश छोडिरहेका छन् । यसकारण समस्या भनेको बीमा कम्पनीहरुले स्वःइच्छाले देश त्यागेका कम्पनीहरुलाई क्षतिपूर्ति दिन्छन् दिँदैनन् भन्ने रहेको छ ।” यसैगरी कानुनविद्हरु भन्छन्, “कम्पनीहरुले रुसी रुबलमा आर्जन गरेको आम्दानीको मात्रै बीमा कम्पनीहरुले बीमा कभर गर्छन्, रुसी रुबलले विनिमय नै गर्न नपाउँदा थप समस्या निम्त्याएको छ ।”

यसका अतिरिक्त रुसले नै कम्पनीहरुलाई सहज हुने र मदत्त पुग्ने तरिकाले काम गर्छ भने कम्पनीहरुलाई बीमा दाबी गर्न सजिलो हुनेछ । सन् २०१४ मा रुसले क्रिमिया हात लिँदा पनि सो प्रकृतिको समस्या उत्पन्न भएको थियो । त्यस समयमा मध्यस्थताको माध्यम अपनाउँदै युक्रेनका नौ कम्पनीहरुले क्षतिपूर्ति पाएका थिए।

कुनै पनि कम्पनीहरुले नोक्सान व्यवस्थापन बीमा तथा मध्यस्थता मध्य एक माध्यमबाट मात्रै गर्न सक्नेछन् ।

-एजेन्सीको सहयोगमा

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।