रुस-युक्रेन युद्धले रासायनिक मलको आपूर्ति श्रृङ्खलामा अवरोध, कृषि उत्पादनमा ह्रास आउने

0
Shares

रुस र युक्रेनबीचको युद्ध थप जटिल बन्दै जाँदा त्यसको प्रभाव कृषिमा क्षेत्रमा परेको छ । रुस रासायनिक मलको संसार कै ठूलो उत्पादक देश रहेको छ ।

रुसबाट आयात हुने रासायनिक मलको आपूर्ति श्रृङ्खलामा अवरोध सिर्जना हुँदा विश्वव्यापी रुपमै कृषि उत्पादनमा कमी आउने भएको छ । विज्ञहरुले युद्धले खाद्यान्न संकट निम्त्याउन सक्ने बताएका छन् ।

विश्वव्यापी रुपमा कृषि उत्पादनमा मात्रै नभएर खेती योग्य जमीनको पनि कमी हुँदै गएको छ । बढ्दो शहरीकरणले ग्रामीण क्षेत्रको जमीन बञ्जर बनेको छ । किसानहरु मलको लागि लडिरहेका छन् । रासायनिक मलको अभाव चर्किएको छ । व्याप्त अभाव भएकै समयमा रुस–युक्रेन युद्ध जटिल बन्दै जाँदा किसानहरु थप मारमा परेका छन् । पोटास, एमोनिया, युरिया लगायत अन्य मलहरुको निर्यात रसियाबाट हुने गरेको छ ।

ती देशहरु जहाँ मकै, धान, सोयाबिन बढी उत्पादन हुने गर्छ, ती ठाउँहरुमा समयमा मलको आपूर्ति नहुँदा उत्पादनमा वार्षिक रुपमा कमी आउँदै गएको छ । यसरी नै मलको अभाव बढ्दै जानु र उत्पादनमा कमी आउनुले सन् २०३० सम्ममा विश्वव्यापी रुपमा अवलम्बन गरिएका दिगो विकासका योजना, शून्य भोकमरी र शून्य गरिबीको लक्ष्य भन्दा धेरै पछाडि रहने विशलेषकहको भनाइ रहेको छ ।

कोभिड–१९ संक्रमण, भूराजनीतिक तनावका कारण रासायनिक मलको मूल्य दोब्बर हुने अवस्था पुगेको छ । नेपाल, बाज्रिल, पेरु, जिम्बावबे लगायतका देशमा यतिबेला रासायनिक मलको अभाव भएको छ । विश्वव्यापी रुपमा २२ प्रतिशत रासायनिक मल रसियाले निर्यात गर्ने गरेको छ । युक्रेनमा युद्ध सुरु गरेको सजाय स्वरुप विभिन्न देशहरुले व्यापारिक तथा आर्थिक प्रतिबन्ध लगाउँदा रुसबाट आपूर्ति हुने मलको श्रृङ्खला रोकिएको छ ।

कोभिड–१९का कारण पहिले नै महंगीएको मलको मूल्य युद्धका कारण झन् महंगीएको छ । महंगो मल र उत्पादनमा कमी आउँदा किसानहरु दोहारो मारमा परेका छन् । यसले दीर्घकालीन रुपमा विश्वमा खाद्यान्न अभाव सिर्जना गर्छ भन्नेमा कृषि जानकारहरु चिन्तित छन् ।

सोयाबिन निर्यातमा पहिलो नम्बरमा रहेको ब्राजिलमा अहिले मल अभाव भएको छ । ब्राजिलले पोटास लगायतको मल रसियाबाट आयात गर्ने गरेको छ । भू–राजनीतिक तनावका कारण आपूर्तिमा समस्या आउँदा ब्राजिलका किसानहरु मर्कामा परेका छन् । उस्तै अवस्था जिम्बावबे र पेरुको पनि रहेको छ ।

नेपालमा पनि वर्षेनी मलको अभाव सिर्जना हुँदै आएको छ । कतिबेला समयमा मल नेपाल नआउनु र कतिबेला विश्वबजारमै मलको अभाव हुनु नेपालका लागि नौलो कुरा होइन । तर पछिल्लो समयमा कोभिड–१९ र रुस युक्रेन युद्धले मलको मूल्य दोब्बर देखि तेब्बर हुन सक्ने कृषि सामाग्री कम्पनीका सूचना अधिकारी अशोक कुमार खड्का बताउँछन् ।

अहिले पनि नेपाली बजारमा युरिया पाइएको छैन । चीनबाट आयात गरिँदै आएको युरियाको बजारमा अभाव रहेको छ । चीनले कोभिड–१९ संक्रमणलाई लिएर शून्य सहनशीलता नीति अवलम्बन गरेपछि चीनबाट आउने मलमा अवरोध भएको खड्काले जमनकारी दिए । मलको मूल्य आकाशिँदा मलको अभाव यो वर्ष पहिलेका वर्षमा भन्दा धेरै हुने खड्काले बताए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।