ब्याजदरमा सहुलियत पाएपछि बढे उद्यमी, १० महिनामा थपियो ६३ अर्ब सहुलियतपूर्ण कर्जा

0
Shares

सरकारले आन्तरिक उत्पादन र उद्यमशिलता बढाउनका लागि सुरु गरेको सहुलियतपूर्ण कर्जामा आकर्षण बढेको छ । धितो वा विना धितो सहुलियत ब्याजदरमा कर्जा पाइने भएकाले पनि यसमा माग बढेको हो ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुल २ खर्ब ५० अर्ब १४ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको १० महिनामा मात्र बैंक वित्तीय संस्थाले ६३ अर्ब ३० करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका हुन् । गत आर्थिक वर्षको अन्त्य अर्थात असार मसान्तसम्ममा यस्तो कर्जा १८६ अर्ब ८३ करोड रुपैयाँ मात्र थियो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्स्थालाई सहुलियतपूर्ण कर्जामा कोटा नै तोकेपछि यस्तो कर्जाका उपभोक्ता बढेका हुन् । गत असारसम्म एक लाख ४ हजार एक सय ९ जनाले लिएको सहुलियतपूर्ण कर्जा चालु आवको माघसम्म आइपुग्दा करिब ४१ हजारले बढेर ऋणीको संख्या मात्र एक लाख ४२ हजार ३ सय ४४ पुगेको छ ।

चालु आवको माघसम्ममा वाणिज्य बैंकहरुले मात्र सहुलियतपूर्ण कर्जा २ खर्ब १७ अर्ब ७२ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । यो रकम बैंकहरुले प्रवाह गरेको कुल कर्जाको ५.२३ प्रतिशत हो । चालु आवको माघसम्ममा वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
माघसम्म तथ्याङक हेर्दा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सहुलियतपूर्र्ण कर्जामा कृषि तथा महिला उद्यमीको हिस्सा उच्च रहेको छ । बैंक/वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा अन्तर्गतका विभिन्न १० शीर्षकमा लगानी गर्छन्।

यो कर्जा मध्ये व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकमा १५८ अर्ब ७७ करोड रुपैयाँ बरावरको कर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कृषि कर्जा लिने ऋणीको संख्या कुल ५८ हजार २ सय ६९ रहेको छ । त्यसैगरी महिला उद्यमशिलता कर्जा अन्तर्गत ८५ अर्ब ९९ करोड रुपैयाँ बरावरको कर्जा स्वीकृत भएको छ । संख्याको दृष्टिकोणबाट महिला उद्यमशिलता कर्जा सबैभन्दा धेरै ८१ हजार २ सय २७ जना रहेको छन् ।

बैंक वित्तीय संस्थाहरुले शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत १५१ जनालाई ७ करोड ९० लाख, विदेशबाट फर्केका युवा परियोजना कर्जा अन्तर्गत ९५७ जनालाई ७८ करोड ४७ करोड, दलित समुदाय व्यावसाय विकास कर्जा अन्तर्गत एक हजार एकसय ७ जनालाई ७६ करोड ६० लाख रुपैयाँ कर्जा स्वीकृत गरेको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा अन्तर्गत १४० जनालाई ४ करोड ७४ लाख, भूकम्प पीडितहरुको निजी आवास निमार्ण कर्जा अन्तर्गत २१८ जनालाइ ६ करोड ३८ लाख, कपडा उद्योग सञ्चालनको लागि २५० जनालाई ३ अर्ब ६२ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । त्यसैगरी प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम २ जना लाई ४ लाख र युवा वर्ग स्वरोजगार कर्जा अन्तर्गत २३ जनालाई ९१ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले दिने कर्जामा निर्धारण गरेको ब्याजदर मध्ये ५ प्रतिशत ब्याजदर अनुदान सुविधा उपलब्ध हुनेछ । महिला उद्यमशिलता कर्जाको हकमा यो अनुदान ६ प्रतिशतमा उपलब्ध हुनेछ । तर, पाँच करोड रुपैयाँ भन्दा बढीको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा २ प्रतिशत मात्र ब्याजदर अनुदान उपलब्ध हुन्छ । यस्तो कर्जामा बैंक वित्तीय संस्थाले ऋणीबाट आधार दरमा २ प्रतिशत मात्र थप गरेर ब्याजदर कायम गर्न पाउँछन् ।

सहुलियतपूर्ण कर्जाको हकमा वाणिज्य बैंकले कम्तिमा ५०० वा न्यूनतम प्रतिशाखा १० र राष्ट्रिय स्तरका विकास बैकले कम्तिमा ३०० वा न्यूनतम प्रति शाखा ५ मध्ये जुन बढी हुन्छ सोही संख्यामा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था पनि सहुलियतपूर्ण कर्जाको संख्या उच्च दरमा बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।