विद्युतीय सवारी साधनको प्रवर्द्धनमा सरकारलाई दवाब दिन विद्युतीय सवारीको र्‍याली


सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न महत्वकांक्षी नीति ल्याए पनि विद्युतीय सवारी साधनको संख्यामा लक्ष्य अनुसार वृद्धि नभइरहेको बेला विद्युतीय सवारी साधनको र्‍याली आयोजना हुने भएको छ ।

हिमालयन हाइड्रोको महत्वपूर्ण पाटोका रुपमा एक्स्पो सुरु हुने दिन चैत १९ गते शनिबार विद्युतीय सवारी साधनको र्‍याली आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको हाइड्रो एक्स्पोमा यस्तो र्‍याली आयोजना गर्न लागिएको हो ।

शनिबार बिहान ७ बजे काठमाण्डौंस्थित भृकृटीमण्डपबाट सुरु हुने र्याली नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ्क पुगेर पुनः भृकुटीमण्डपमा आएर समापन हुनेछ । र्‍यालीका सहभागिहरुलाई पर्यटनमन्त्री प्रेम आलेले फर्पिङमा स्वागत गर्नेछन् ।

इप्पान उपाध्यक्ष गर्गका अनुसार, र्यालीमा करिब दुई सय सवारीसाधन सहभागी हुनेछन् । ‘सरकारको लक्ष्य र अपेक्षाअनुसार विद्युतीय सवारी साधन नबढीरहेको बेला सरकार र सरोकारवाला सबैलाई दबाब दिन र यसको प्रवद्र्धन गर्नका लागि र्यालीको आयोजना गरेका हौँ’, उनले भने ।

र्‍यालीपछि हिमालयन एक्स्पोको उद्घाटन शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

सरकारले २०७१ सालमा पाँच वर्षभित्रै २० प्रतिशत विद्युतीय सवारीसाधन गुडाउने महत्वकांक्षी योजना अघि सारेको थियो । यसका लागि २०७१ सालमै आर्थिक वर्ष २०७७/७८ सम्ममा समग्र सवारी तथा यातायातको साधनको कम्तिमा २५ प्रतिशत वातावरणमैत्री सवारी साधन तथा यातायातका साधनलाई सञ्चालनमा ल्याइने गरी वातावरणमैत्री सवारी साधन र यातायात नीति अख्तियार गरेको थियो ।

तर यो नीति आएको सात वर्ष बितिसक्दा पनि विद्युतीय सवारी साधनको संख्या दुई प्रतिशतभन्दा कम छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।