बैंकहरुलाई हकप्रद निष्कासनमा रोक लगाउँदा व्यवसाय विस्तार गर्न नसक्ने अवस्था

0
Shares

नेपाल राष्ट्र बैंकले हकप्रद सेयर निष्कासन गर्न रोक्दा बैंकहरुको व्यवसाय विस्तारमै असर गरेको छ । प्राथमिक पुँजी कोष बढाउन नपाउँदा बैंकहरुले हालको व्यवसायको आकार समेत घटाउनु पर्ने अवस्था आएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको प्राथमिक पुँजीको ८.५ प्रतिशत हुनुपर्छ । तर, पछिल्लो समयमा करिब दर्जन बैंकहरुको यस्तो अनुपात तोकिएको नजिक रहेको छ । जसले गर्दा बैंकहरुले कर्जा लगानी गर्ने तथा व्यवसाय विस्तार गर्न समस्या सृजना भएको छ ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको पुँजीकोष अनुपात ११ प्रतिशत तोकेको छ । त्यसमा पनि प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशत हुनुपर्ने व्यवस्था छ । राष्ट्र बैंकका अनुसार यो ‘टायर वान क्यापिटल’ हो ।

त्यसैगरी बैंकहरुले पुँजी कोष अनुपात ११ प्रतिशत पु¥याउनका लागि ‘टायर टु’ लाई पनि त्यसमा समायोजना गर्न पाउछन । राष्ट्र बैंकका अनुसार पुँजी कोष अन्पात ११ हुनुपर्ने भएपनि त्यसमा ८.५ प्रतिशत प्रथामिक पुँजीकोष अनुपात हुनैपर्छ ।

प्राथमिक पुँजी तोकिएको सीमामा राख्नका लागि की हकप्रद सेयर जारी गर्ने की कर्जा घटाउने नै रहेको नेपाल बैंकर्स संघका पुर्व अध्यक्ष भुवन कुमार दाहालले बताए । “कुनै बैंकले नीति नियम मानेर व्यवसाय विस्तार गर्छु भन्छ भने त्यसलाई रोक्न हुदैन भन्ने लाग्छ,” दाहालले भने,“नीति नियम नमानेका लाई रोक्दा हुन्छ ।”

राष्ट्र बैंकले हकप्रद सेयर रोक्नुको अर्को कारण मर्जर नीति पनि हुन सक्ने बताउँदै पुँजी तथा कर्जा उस्तै उस्तै भएका संस्थाहरु एक भएको खण्डमा व्यवसाय विस्तार गर्ने अवस्था नहुने उनको भनाई छ । तर, धेरै थोरै भएका संस्थाहरु मर्जरमा गएको खण्डमा केही योगदान हुने उनले बताए । नेपाल राष्ट्र बैंकको मर्जरको नीति सफल बनाउनका लागि हकप्रद सेयर निष्कासन गर्न दिने विषयलाई पनि प्रयोग गर्न सक्ने उनले बताए । “केन्द्रीय बैंकले मर्जरमा जाने बैंकहरुलाई हकप्रद सेयर जारी गर्न दिने भनेको खण्डमा व्यवसाय विस्तारका लागि पनि बैंकहरु मर्जरमा जाने सम्भावन देखिन्छ,” उनले भने,“ अनुशासीत बैंकिङ गरिरहेको संस्थालाई धेरै अड्को फड्को राखी राख्नु नपर्ने हो भन्ने लाग्छ ।”

नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकहरुको ब्यवसाय नै रोकिने अवस्था आउने गरी हकप्रद सेयर रोक्न नहुने बताए । “अहिलेको अवस्थामा उच्च कर्जा प्रवाहका कारणले ब्यावसाय विस्तारमा रोक लगाउन खोजिएको हो भने अन्य विकल्प हुन सक्छन,” उनले भने,“पुँजीको विषयमा नै अफठ्यारो पारेर व्यवसाय रोक्ने नीतिमा सोच्नु पर्ने देखिन्छ ।”

बैंकहरुले विजनेस सञ्चालन गर्नका लागि कुनै न कुनै उपाय आवश्यक रहेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । सर्वसाधारणको निक्षेप लगेर पुँजीकरण गरेको विगतको समस्या दोहोरीदैन भन्ने निश्चित गर्न नसकिने भएकाले पनि हकप्रद रोकेको उनले बताए । अहिलेको उच्च कर्जा प्रवाह गरेका बैंकहरुलाई हकप्रद सेयर जारी गर्न दिएको खण्डमा फेरी प्रणालीमा जोखिम बढ्ने उनको बुझाइ छ । “अहिलेको अवस्था निकै होसिायर हुनुपर्ने अवस्था छ,” ती अधिकारीले भने,“निक्षेप प्रयाप्त भएका संस्थाहरुले स्रोत देखाउन सकेको खण्डमा हकप्रद दिने पनि एउटा उपाय हुन सक्छ ।”

बैंकहरुलाई हकप्रद निष्कासन गर्न दिने विषयमा छलफल गर्न सकिने उनको भनाई छ । लगानीकर्ता आफैले पैसा हाल्छन भनेर सुनिश्चितता गर्न नसकिने भएकाले पनि हकप्रद जारीको अनुमती दिन जटिल छ । त्यसैले हकप्रद निष्कासन गर्ने विषयलाई छलफलमा ल्याएर सकारात्मक तथा नकारात्मक पक्षहरु केलाएर नीतिगत निर्णय गर्न सकिने उनको भनाइ छ । त्यसका साथै मर्जरमा दिदै आएका इन्सेन्टिभ मध्ये हकप्रद सेयरको अनुमती पनि थप गर्दा मर्जरको नीति समेत थप सफल हुने उनको बुझाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।