हिमालयन हाईड्रो एक्सपोमा जलविद्युत् प्रवर्द्धनमा बहुआयामिक छलफल हुने


जलविद्युत् क्षेत्रका नविनतम प्रविधि प्रदर्शनीदेखि सरोकारका सवै विषयवस्तुमा छलफल गर्ने गरी शनिबारदेखि हिमालयन हाईड्रो एक्सपो सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रममा विभिन्न विषय बस्तुमा तीनै दिन विभिन्न शत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरुका बीचमा छलफल हुनेछ ।

पहिलो दिन शनिबार जलविद्युत् आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युत्को बजारीकरण तथा यसका समस्या र हरित हाईड्रोजनका विषयमा छलफल हुने आयोजकले जनाएको छ । प्रविधि सम्बन्धी सत्रमा भिब्रो सिस्टम क्यानडाका रविशेख दिक्षितले हाईड्रो युनिटको उपयुक्त सञ्चालन तथा मर्मतमा प्रस्तुती दिनेछन् । त्यस्तै डा. सिबास्टियन पाल्टले सेडिमेन्ट व्यवस्थापनमा बोल्नु हुनेछ । सिनेटेकका म्यानेजर मनोज भट्टराईले जलविद्युत्को राष्ट्रिय तथा अन्तररष्ट्रिय क्षेत्रमा उपलब्ध नविन प्रविधिबारे चर्चा गर्नेछन् । हरित हाइड्रोजनका सम्बन्धमा ब्रिटिश हाई कमिशन इण्डियाका वरिष्ठ उर्जा सल्लाहकार मिलिण्ड गोडब्लेले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

दोस्रो दिन चैत २० गते आईतबार जलविद्युत् क्षेत्रमा जलवायु परिवर्तन, वातावरणीय तथा सामाजिक विषयवस्तुमथि छलफल हुँदैछ । सोहीदिन नै दोस्रो सत्रमा बैकपिक ऊर्जा प्रवर्दन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, नेपाल विद्युत् प्राधिकरणका सागरमणि ज्ञवाली लगायत सहभागीतामा विद्युतीय सवारी साधान तथा विद्युतीय भन्साको वर्तमान अवस्था र भविश्यका सम्भावनामा विज्ञहरुले छलफल हुनेछ । तेस्रो सत्रमा जलविद्युत् आयोजनामा वित्तीय तथा अन्य स्रोत व्यवस्थापनका विषयमा विशेष अन्तरकृया गर्ने तय गरिएको आयोजकले जनाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान लगायतका व्यक्तित्व उक्त सेसनमा सहभागी हुने आयोजकले जनाएको छ ।

तेस्रो दिन चैत २१ गते सोमबार दुईवटा सत्र तय गरिएको छ । पहिलोसत्रमा नेपालमा विद्युत् उत्पादन र उपभोगका विषयमा सरोकारवाला विज्ञले छलफल गर्नेछन् । सो सत्रमा विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके, प्राध्यापक अमृतमान नकर्मी, हाईड्रो सोलुसन्सका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायत सहभागी हुुनेछन् अन्तिम सत्रमा जलविद्युत् क्षेत्रको नीतिगत विषयबस्तुमा छलफल गरिने भएको छ । ऊर्जा जलश्रोत सिँचाईमन्त्री पम्फा भूषालको विशेष उपस्थिति हुने सो सत्रमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली काँग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.कृष्णप्रसाद ओली र उर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुने कार्यक्रम रहेको छ ।

नेपाली जलविद्युुत्को बजार प्रवद्र्धन भन्ने नाराका साथ आयोजना गरिएको यस हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा बृद्धि गर्न र बिदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने अपेक्षा आयोजककोे छ । यस एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत सय वटा भन्दा बढी स्टल बुकिङ भइसकेका छन् । जसमा बिदेशी स्टलसमेत रहेका छन । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने छ ।

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावरमा रोबोटर्सको भूमिका विशेष आकर्षणका रुपमा प्रतुत गरिँदैछ । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकर्न २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।