हिमालयन हाइड्रो एक्स्पो सुरु, ऊर्जा विकासमा निजी क्षेत्रको योगदान महत्वपुर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई


तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो शनिबारदेखि राजधानीमा सुरु भएको छ । एक समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले हिमालयन हाइड्रो एक्सपोको उद्घाटन गरेकी हुन् ।

एक्स्पो उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उर्जा उत्पादन सुरु भएको शतक बित्दासम्मको अवस्थामा उर्जा क्षेत्रमा भएको विकास अपेक्षित रुपमा हुन नसकेको बताइन् । यद्यपी उर्जा क्षेत्रमा यो समयमा भएको विकासमा निजी क्षेत्रले पुर्याएको योगदान महत्वपुर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई थियो ।

पछिल्ला वर्षहरुमा उर्जा उत्पादनमा आएको बढोत्तरी प्रंशसनीय रहेको बताउँदै राष्ट्रपति भण्डारीले उर्जाको आन्तरिक खपत बढाउँदै निर्यातको अवस्थामा पुग्न लागेको भन्दै खुसी व्यक्त गरेकी छिन् । समृद्ध नेपाल र सुखी नेपालीको सङकल्प पुरा हुनु पर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले जलस्रोतको बहुआयामिक उपयोगमा जोड दिएकी थिइन् ।

देशका विभिन्न स्थानमा अझै पनि बिजुलीको पहुँच नपुगेको भन्दै राष्ट्रपति भण्डारीले यसमा सम्बद्ध सबै पक्षले चासो दिनु पर्ने बताइन् । जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा हिउँको तह पातलिँदै जाँदा त्यसको नकरात्मक असर पर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै हरियाली प्रवद्र्धनमा लाग्न राष्ट्रपति भण्डारीले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी थिइन् ।

जलविद्युत क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला सबैलाई एउटै छानामुनी जम्मा गरेर छलफल तथा अनुभव आदानप्रदान गर्ने उद्धेश्यले एक्स्पो आयोजना गरिएको हो ।
एक्स्पोलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जलविद्युतको विकासका लागि मन्त्रालयले करहमेसा पहलकदमी लिइरहेको बताए । उर्जाको विकासमा वन मन्त्रालयसँग जोडिएका कुनै पनि कामलाई ढिलासुस्ती गर्ने काम नभएको भन्दै मन्त्री यादवले उर्जा विकासमा निजी क्षेत्रले गरिरहेको काम अझै बिस्तार भएर जानु पर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले उर्जा क्षेत्रमा निजी क्षेत्रबाट भएको लगानीको सुरक्षामा सरकार संवेदनशील हुन नसकेको बताए । नीति नियम तथा उच्च तहका व्यक्तिहरुको बोलीभन्दा व्यवहार उल्टो हुने गरेकाले समस्या हुने गरेको भन्दै श्रेष्ठले बोली र नियम अनुसार काम गर्न ध्यानाकर्षण गराएका थिए ।

नेपाल उद्योग परिसङका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रमैत्री नीति तथा कानुन राम्रो भए पनि व्यवहारिक पाटो कमजोर भएको भन्दै त्यसको सुधारमा जोड दिए ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रालिको आयोजनामा सुरु भएको एक्स्पोले उर्जा विकासमा अवसरको खाजी गर्ने अपेक्षा गरिएको छ ।

इपान अध्यक्ष कृष्ण प्रसाद आचार्यले निजी क्षेत्रको लगानीमा नै उर्जाको माग धान्न सक्ने अवस्था बनेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन एक्स्पो आयोजना गरिएको बताएका थिए । उर्जाको विकासमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै उपान अध्यक्ष आचार्यले उर्जा उत्पादन सम्भाव्यताको झण्डै ५ प्रतिशत मात्र उर्जा उत्पादन भएको बताए ।

२०४७ सालको परिवर्तन पछि निजी क्षेत्रले १ हजार ५०० मेगावाट विद्युत उत्पादन गरिहरहेको भए पनि पछिल्लो ३ वर्षदेखि विद्युत खरिद बिक्री सम्झौता हुन नसक्दा प्रवद्र्धकहरु हतोत्साहित बनेको आचार्यको भनाई थियो । आगामी ५ वर्षमा निजी क्षेत्रबाट १७ खर्ब लगानी हुने प्रक्षेपण गर्दै आचार्यले निती नियमका माध्यमबाट सहजीकरण हुनेमा आशावादी रहेको बताएका थिए ।

नेपाल भारत उर्जा व्यापारमा सक्रिय रुपमा काम गरिरहेको साउथ एशिया इनर्जी एक्स्पर्ट एवं कन्फिडिरेशन अफ इडियन इण्डिष्ट्रिजका डा. भुपेन्द्र कुमार सिंहलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

एक्स्पोमा टाइटल स्पन्सर गरेको एनएमबी बैंकले क्लिन इनर्जीलाई प्राथमिकतामा राख्ने भन्दै ९.९९ प्रतिशत व्याजदरमा विद्युतीय सवारी साधनमा फाइनान्सिङ गर्ने जानकारी एक्स्पोमा दिइएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इपान उपाध्यक्ष आशिष गर्गले उक्त विषयलाई उजागर गर्न विद्युतीय सवारी साधनको चाबी अनविल गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।