नेपाल भित्रने रेमिट्यान्स बढ्यो, फागुनमा आयो ९१ अर्ब

0
Shares

चालु आर्थिक वर्ष २०७८/७९ को फागुको एक महिनामा मात्रै वैदेशिक रोजगारीमा गएका नेपालीहरुले ९१ अर्ब ७ करोड रुपेयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका छन् । यसअघि प्रतिमहिना औसतमा ७७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिन गरेकोमा फागुनमा १४ अर्ब रुपैयाँ बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । माघ मसान्तसम्ममा यस्तो रकम ८.७ प्रतिशतले बढेर ५ खर्ब ४० अर्ब १२ करोड रहेको थियो । फागुनमा भित्रिएको रेमिट्यान्स रकम बढेपनि समग्रमा भने नेपाल आउने रेमिट्यान्स घटेको छ ।

विसं २०७७ फागुसम्मको तुलनामा चालु आवको यसै अवधिमा १.७ प्रतिशतले कमी आएको राष्ट्र बैंकको तथ्याङ्क छ । माघ मसान्तसम्ममा भने अघिल्लो आवको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाहमा ४.९ प्रतिशतले कमी आएको तथ्याङ्क छ ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो ।

यसैगरी चालु आवको आठ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख २७ हजार ९०० पुगेको छ । २०७७ फागुन मसान्तसम्ममा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई ७ खर्ब ४ अर्ब ३३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको थियो ।

देशभित्र विदेशी मुद्राकाे सञ्चिति घटेर साढे ६ महिनाको वस्तु तथा सेवा धान्न प्रयाप्त रहेको अवस्थामा नेपाल भित्रने रकम बढेसँगै यसले देशको ढुकुटी थप बलियो बन्न सहयोग पुग्नेछ । देशमा डलर सञ्चिति घटेसँगै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई अत्यावयक बाहेकको सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) खोल्न समेत निर्देशन मार्फत रोक लगाइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।