नेपालको मात्रै नभई ठूला अर्थतन्त्र भनिएका देशहरुको समेत विदेशी विनिमय सञ्चिति घट्दै

0
Shares

साना तथा गतिशील अर्थतन्त्र जस्तै नेपालको मात्र नभई सक्षम तथा ठूला भनिएका अर्थतन्त्रको समेत विदेशी विनिमय सञ्चिति घटेको छ । कोभिड–१९, रुस–युक्रेन युद्ध, बढ्दो महंगीका कारण ठूला अर्थतन्त्र मानिएका देशहरुको पनि विदेशी विनिमय सञ्चिति तीव्र रुपमा घटेको हो ।

कोभिड–१९ महामारीले धरासायी बनाएको अर्थतन्त्र पूर्ण रुपमा रिकर्भर हुन नपाउँदै रुस–युक्रेनबीच युद्ध सुरु भएपछि विश्व अर्थतन्त्र पुनः समस्यामा परेको छ ।

कोभिड–१९का कारण जन्मिएको मुद्रास्फीति नियन्त्रणमा राष्ट्रहरुले काम गरिरहेको समयमा रुस–युक्रेन युद्धले इन्धनको मूल्य वृद्धि गर्दा सबल मानिएका राष्ट्रहरुको विदेशी मुद्रा सञ्चितिमा कमी आएको हो । विश्वव्यापी रुपमा दुवै आयात तथा निर्यातमा निर्भर देशहरुको विदेशी विनिमय सञ्चिति कम हुँदै गएको छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालको मात्र नभई ठूलो अर्थतन्त्र मानिएका राष्ट्र जस्तै अमेरिका, चीन, जापान, बाज्रिल, भारतको विदेशी विनिमय सञ्चितिमा गिरावट आएको छ । विदेशी विनिमय सञ्चिति देशको अर्थतन्त्र, अर्थ मापनका अन्य सूचकमा भर पर्ने हुँदा नेपाल र अन्य ठूला राष्ट्रहरुबीचको विदेशी विनिमय सञ्चिति गिरावटलाई फरक ढङ्गले हेरिनुपर्ने धारणा अर्थविद् विस्वम्बर प्याकुरेलको रहेको छ । नेपाल आयात निर्भर देश रहेको र विदेशी मुद्रा सञ्चितिमा गिरावट आउँदा नेपालको क्रय शक्ति कमजोर हुन जान्छ र त्यसले नेपाली जनतामा जुन प्रभाव पर्छ, त्यति प्रभाव अरु देशको सञ्चितिमा गिरावट आउँदा नपर्ने प्याकुरेलले बताए ।

मार्च २०२२ सम्मको चीनको विदेशी विनिमय सञ्चितिमा २४ हजार २३४ मिलियन गिरावट आएको छ । यसैगरी जापानको विदेशी विनिमय सञ्चिति पनि १ हजार ३५९ मिलियन बराबरको गिरावट आएको हो । ब्राजिलको केन्द्रीय बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार ब्राजिलको विदेशी विनिमय सञ्चितिमा ५ हजार ५६८ मिलियन बराबरको कमी आएको हो । ब्राजिल समान अर्थतन्त्र मानिएको भारतको विदेशी विनिमय सञ्चितिमा ११ हजार १७० मिलियन गिरावट आएको छ । संसारकै ठूलो अर्थतन्त्र मानिएको अमेरिकाको विदेशी विनिमय सञ्चितिमा पनि ८३४ मिलियनको गिरावट आएको छ ।

नेपालको परिवेशलाई केलाउँदा माघ महिनामा ९ अर्ब ७५ करोड अमेरिकी डलर रहेको विदेशी विनिमय सञ्चिति फागुन महिनाको अन्त्यमा ९ अर्ब ५८ करोड पुगेको छ ।

वर्तमान परिपेक्षमा नेपालको विदेशी विनिमयमा आएको कमीका कारण नेपाल श्रीलंकाको पथमा पुग्यो कि भन्ने चिन्ता जनमानसमा छाएको छ । यसै सन्दर्भमा अर्थविद् प्याकुरेल भन्छन्, “विदेशी विनिमय सञ्चितिमा कमी आउनुले नेपाल श्रीलंकाको बाटोमा गएको भन्ने हुँदैन तर नेपालको अर्थतन्त्र सानो भएको र अर्थतन्त्रका अन्य सूचक कमजोर रहेका कारण श्रीलंका तर्फ लम्किरहेको छ । ”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।