पूँजी वृद्धिको कारण खुलाउँदै बीमा समितिले भन्यो, पूँजी वृद्धि गर्न नसके ‘फोर्स मर्जर’

0
Shares

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको सङ्ख्या घटाउन, पूँजी वृद्धि गर्न, बीमकको जोखिम धारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय भएको बताएका छन ।

नववर्ष २०७९ को पूर्वसन्ध्यामा ललितपुरको कुपण्डोलस्थित बीमा समितिमा आयोजित बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले समितिको निर्णय बमोजिम बीमा कम्पनीहरूले स्वःस्फूतरूपमा मर्जरमा गएर भए पनि चुक्ता पूँजी वृद्धि गर्नुपर्ने बताए ।

अध्यक्ष सिलवालले भने, ”बीमा कम्पनीहरूसँग ३० दिनभित्र पूँजी बृद्धिको योजना मागेका छौं । पूँजी बृद्धि गर्नुपर्छ । पूँजी बृद्धि गर्न नसके मर्जरमा जानुपर्छ । यसमा आवश्यक सहजीकरण एवम् सहयोग गर्न समिति तयार छ । कम्पनीले पूँजी बृद्धि गर्न नसके एक वर्षपछि फोर्स मर्जरमा जानुपर्ने अवस्था आउनसक्छ ।“

बीमा व्यवसायलाई स्थापितरूपमा अगाडि बढाउनका लागि राष्ट्रिय बीमा नीति ल्याउन समितिले पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष सिलवालले राष्ट्रिय बीमा नीति आएपछि प्रदेश र स्थानीय तहमा पनि बीमा नीति बन्ने र दीर्घकालीन योजनाका साथ बीमा व्यवसाय सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष सिलवालले विभिन्न जिल्लामा रहेका बीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ता लगायतलाई तालिम दिनका लागि सातवटै प्रदेशमा तालिम संचालन गर्न इन्सुरेन्स इन्ष्टिच्युट नेपाललाई निर्देशन दिइएको जानकारी दिनुहुँदै बीमाप्रतिको विश्वास बढाउन, सरेण्डरको अवस्था आउन नदिन र बीमा व्यवसायलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच बढाउनका लागि बीमा समितिले प्रादेशिस्तरमा शाखा कार्यालय स्थापना गर्न लागेको उल्लेख गर्नुहुँदै समितिको प्रयासबाट बीमा क्षेत्रमा सुशासनमा केही सुधार भएको, बीमाको दायरा सरकारले लिएको लक्ष्यभन्दा पनि बढेको र विभिन्न प्रदेशहरूमा बीमाको फोकल पर्सन तोक्ने कार्य समेत भएको जानकारी दिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।