सेयर धितो कर्जा पछिल्लो ७ महिनामा १३ अर्बले घट्यो, सफल हुँदै राष्ट्र बैंकको ४/१२ को नीति

0
Shares

चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा सेयर धितो कर्जा १३ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा ४ करोड देखि १२ करोडको सीमा लगाएपछि सो शिर्षकको कर्जा घट्दो क्रममा देखिएको हो ।

कोरोना महामारीमा आर्थिक गतिविधि ठप्प भएपछि बैंक वित्तीय संस्थाका अधिक तरलताको अवस्था थियो । अधिक तरलता भएपनि बैंक वित्तीय संस्थाले अल्पकालिन क्षेत्रको कर्जा लगानी अस्वभाविक रुपमा विस्तार गरे । त्यसको प्रभाव सेयर धितो कर्जामा समेत देखियो ।

कोरोना माहामारी आर्थिक गतिविधि अस्तव्यवस्त भएपछि सेयर बजारमा भने एक पछि अर्को नयाँ उचाई बन्ने क्रम जारी रह्यो । बजारको वृद्धिमा बैंक वित्तीय संस्थाको कर्जा उत्तिकै सकारात्मक भुमिका रह्यो । अन्य आर्थिक गतिविधि ठप्प हुँदा बैंकहरुमा उच्च दरमा निक्षेप थपिएपछि ब्याजदर समेत एकल अंकमा आयो।

बैंकहरुले ब्यावसाय जारी राख्नका लागि सस्तो ब्याजदरमा शेयर धितो कर्जा दिन थाले । त्यसले गर्दा सो क्षेत्रको कर्जाको माग पनि बढ्न गयो । यसलाई बैंक वित्तीय संस्थाले दोहोरो फाइदाको रुपमा प्रयोग गरे । बैंक वित्तीय संस्था आफै पनि सेयर बजारमा लगानी थर्न थाले भने अर्को पक्ष भनेको सेयर कर्जामा पनि लचकता अपनाएर सस्तो ब्याजदरमा दिन थाले । त्यसको प्रभावले धितोपत्र बजार सूचक हालसम्मकै उच्च ३२ सयको विन्दु सम्म पुग्यो ।

सेयर बजारमा आएको अस्वभाविक सुधार आएको भन्दै नेपाल राष्ट्र बैंक आफैले खुकुलो बनाएको सेयर धितो कर्जाको व्यवस्थालाई पुन कसिलो ग्रयो । नेपाल राष्ट्र बैंकले गत साउन २९ गते मौद्रिक नीति मार्फत मार्जिन प्रकृतिको कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट एक ग्राहक सीमा अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था ग्रयो । त्यतीमात्र नभै उक्त कर्जाको सीमा भन्दा माथि भएको ऋणीले कर्जा भुक्तान समय वा एक वर्ष भित्र सीमा भित्र ल्याइसक्नु पर्ने व्यवस्था ग¥यो । त्यसैगरी चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत सेयर धितो कर्जाको जोखिम भार पनि बढाएर १५० प्रतिशत कायम गरेपछि सो शिर्षकको कर्जा घट्न थालेको हो ।

चालु आर्थिक वर्षको भदौ अन्तिमसम्ममा बैंक तथा वित्तीय संस्थाबाट १०८ अर्ब ५१ करोड २० लाख रुपैयाँ सेयर धितो कर्जा प्रबाह भएको थियो । केन्द्रिय बैंकले मौद्रिक नीति ल्याएपछिका ७ महिना अर्थात फागुनसम्ममा सो कर्जा ११.७१ प्रतिशतले घटेर ९५ अर्ब ८० करोड २० लाख रुपैयाँमा झरेको छ । यो अवधिमा रकमका आधारमा बैंक वित्तीय संस्थाबाट प्रबाह भएको कर्जा १२ अर्ब ७१ करोड रुपैयाँले घटेको हो । २०७७ फागुनमा बैंक वित्तीय संस्थाबाट प्रबाह भएको सेयर धितो कर्जा ८१ अर्ब ४१ करोड ७० लाख रुपैयाँ थियो ।

कोरोना अवधिमा सेयर तथा घरजग्गा जस्ता सम्पत्तिको मूल्य अस्वभाविक रुपमा माथि चढ्यो । सम्पत्तिको मूल्यमा आएको वृद्धिले आयातलाई समेत अस्वभाविक बढायो । त्यसको असर अहिले विदेशी विनिमय सञ्चितिमा देखिएको छ । विदेशी विनिमय सञ्चितिमा दवाव परेपछि सरकारले आयातमा नियन्त्रण गरेको छ भने नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अनौपचारिक रुपमा प्रतिपत्र नखोल्न निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ वैशाख २०७९, आइतबार  १६ : १२ बजे