नाफा विस्तारमा मध्यम बैंकहरु आक्रमक, कम नाफा कमाएको सिभिलकाे वृद्धिदर सबैभन्दा धेरै

0
Shares

चालु आर्थिक वर्षको फागुन महिनासम्ममा बैंकहरुले खुद नाफा वृद्धि गर्नेमा मध्यम बैंकहरु अगाडि देखिएका छन् ।

चालु आवको फागुन सम्ममा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले कुल ४६ अर्ब ८६ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यस अवधिमा ठूला वासलात र धेरै नाफा गर्दै आइरहेका बैंकहरुको तुलनामा मध्यम बैंकहरुको नाफा वृद्धिदर अधिक बढेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार बैंकहरुको नाफा १२.४२ प्रतिशतले बढेको छ । गत आवको फागुनसम्ममा बैंकहरुले ४१ अर्ब ६८ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

यस अवधिमा सिभिल बैंकले शतप्रतिशतभन्दा बढीले नाफा बढाएको छ । सबैभन्दा थोरै नाफा गर्ने सिभिल बैंकले नै सबैभन्दा धेरै नाफा बढाएको हाे । विसं २०७७ फागुनमा ३४ करोड ५९ लाख नाफा आर्जन गरेको सिभिलले २०७८ फागुनमा ७३ करोड ६१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको ८ महिनाको तुलनामा ११२.७९ प्रतिशत धेरै हो ।

यसैगरी २०७८ साउनदेखि फागुन मसान्तसम्म नेपाल एसबिआई बैंकले ५०.१६ प्रतिशतले नाफा बढाउँदै १ अर्ब १४ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । थप चार बैंकहरु सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, विदेशी लगानीको स्ट्याण्डर्ड चार्टड, एनसीसी, र हिमालयन बैंकको नाफा ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

विसं २०७८ फागुन मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकले ४३.५० प्रतिशतले नाफा वृद्धि गर्दै २ अर्ब ६५ करोड ५१ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४४.७७ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ३९ करोड ८१ लाख, एनसीसी बैंकले ४६.७९ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ३९ करोड ४२ लाख र हिमालयन बैंकले ४३.६९ प्रतिशतले नाफा बढाउँदै १ अर्ब २९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा २०७७ फागुनको तुलनामा सेञ्चुरी बैंकले ३९.२५ प्रतिशत, माछापुच्छ्रे बैंकको ३०.४२ प्रतिशत, सिटिजन्स बैंक २९.३२ प्रतिशत, सिद्धार्थ बैंक २७.७१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक २७.६४ प्रतिशत, बैंक अफ काठमाण्डू १८.९० प्रतिशत, एनआईसी एशिया १८.४६ प्रतिशत, लक्ष्मी १२.४२ प्रतिशत र ग्लोबल आईएमई बैंकले १२.०७ प्रतिशतले नाफा बढाएको छ । प्राइम बैंक, कृषि, कुमारी, नेपाल, एनएमबि बैकको सिंगल डिजिट प्रतिशतमा नाफा बढेको छ ।

७ बैंकको नाफा घट्यो

चालु आवको फागुन मसान्तसम्ममा ७ बैंकहरुको नाफा घटेको छ ।

विसं २०७७ फागुनको तुलनामा २०७७ फागुनको तुलनामा प्रभु बैंकको खुद नाफा सबैभन्दा धेरै १६.३३ प्रतिशत अर्थात ३२ करोड ४५ लाख रुपैयाँ घटेको छ ।

चालु आवको फागुनसम्ममा प्रभु बैंकले १ अर्ब ६६ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको यसै अवधिमा बैंकले १ अर्ब ९८ करोड ७१ लख ७० हजार रुपैयाँ रहेको छ ।

चालु आवको फागुनसम्ममा नबिल बैंकको खुद नाफा २.७८ प्रतिशत अर्थात ८ करोड ६९ लाख रुपैयाँ घटेको हो । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको ११.७८ प्रतिशत अथाृत २७ करोड रुपैयाँले नाफा घटेको छ । फागुनसम्ममा एभरेष्ट बैंकको ६.४२ प्रतिशत, सनराइज बैंकको २.०३ प्रतिशत, सानिमा बैंकको ३.९९ प्रतिशत, र मेगा बैंकको नाफा ४.७६ प्रतिशतले घटेको छ ।

तीन बैंकको खुद नाफा ३ अर्ब माथि

फागुन महिनासम्ममा ग्लोबल आइएमई, एनआइसी एसिया बैंक र नबिल बैंकले ३ अर्ब भन्दा धेरै नाफा गरेका छन् ।  यी मध्ये पनि सबैभन्दा धेरै नाफा गर्नेमा ग्लोबल आइएमइ बैंक रहेको छ । जनता बैंकलाई गाभेपछि ग्लोबल आइएमई बैंक अन्य बैंकको तुलनामा ठूलो पनि छ ।

ग्लोबल आइएमई बैंकले फागुनसम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यसैगरी एनआइसी एसिया बैंकले ३ अर्ब २९ करोड ५४ लाख रुपैयाँ र नबिल बैंकले ३ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

राष्ट्रिय वाणिज्य, प्राइम, एनएमबि, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ र नेपाल बैंकले २ अर्ब माथि नाफा आर्जन गर्दा थप १६ बै.कले १ अर्बभन्दा बढीनाफा कमाएका छन् । सेञ्चुरी र सिभिल बैंकको खुद नाफा एक अर्बभन्दा कम छ ।

बैंकहरुले अनुत्पादक तर छिटो प्रतिफल आउने क्षेत्रमा उल्लेख्य लगानी गरेको हुनाले कोरोना माहामारीको समयमा नाफा बढाएका हुन् । माघमा ६ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएका बैंकहरुको नाफा फागुनमा ९.०५ प्रतिशतले बढेर ६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

कोरोनाका कारण अस्तव्यवस्त भएको अर्थतन्त्रमा चालु आर्थिक वर्ष सुरु भएपछि कर्जाको माग झनै उच्च हुन थाल्यो । कोरोनाका कारण बैंकिङ प्रणालीको कर्जाको ब्याजदर समेत एकल अंकमा झर्यो । त्यसले सेयर बजार तथा जग्गाको मूल्यमा उच्च सुधार समेत आयो ।

घरजग्गा तथा सेयर बजारमा बैंकहरुले आफैले पनि लगानी गरेर कमाए ।  तर, चालु आवको सुरुवात देखिनै बैंकहरुमा तरलता तथा कर्जा लगानी योग्य रकम अभावको समस्या देखियो । सो समस्या हाल सम्ममा पनि कायम नै छ । यस्तो अवस्थामा पनि बैंकहरुको नाफा वृद्धि कायम रहनु समान्य होइन ।

पछिल्लो समयमा सरकार तथा नेपाल राष्ट्र बैंकले आयातमा समेत केही कडाइको गरेको भएपनि बैंकहरको आम्दानीमा खासै असर गरेको देखिदैन । तर, चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि बढेको ब्याजदरका कारण पनि बैंकहरुको नाफा बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।