तेस्रो त्रैमासमा १२ बैंकको नाफा घट्यो, चैतसम्म कुल ५१ अर्ब नाफा आर्जन

0
Shares

मुलकमा सञ्चालनमा रहेका ‘क’ वर्गका २७ बैंकहरुमध्ये चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ बैंकको खुद नाफा घटेको छ । सेञ्चुरी कमर्सियल बैंकको नाफा सबैभन्दा धेरै १८३ प्रतिशत अधिकले बढ्दा लक्ष्मी बैंकको खुद नाफा ३३ प्रतिशतभन्दा धेरैले घटेको हो ।

चैत मसान्तसम्ममा २७ बैंकहरुले कुल ५१ अर्ब एक करोड ७८ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । २०७७ चैतमा ५० अर्ब ७४ करोड २५ लाख रुपैयाँ नाफा गरेका बैंकहरुको नाफा ०.५४ प्रतिशत मात्र बढेको हो । वाणिज्य बैंकहरुको खुद नाफा औषतमा १ अर्ब ८८ करोड रहेको छ । ११ वाणिज्य बैंक नाफा औषतभन्दा धेरै छ ।

चालु आवको ९ महिना अवधिमा लक्ष्मी बैंकले सबैभन्दा कम ८५ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । ग्लोबल सहित एनआइसी एशिया र नबिल बैंकले ३ अर्बभन्दा बढी नाफा कमाएको छ । चैतसम्म एनआइसी एशिया बैंकले ३ अर्ब ६० करोड रुपैयाँ र नबिल बैंकले अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सिभिल, बैंक अफ काठमाडौँ र लक्ष्मी बैंकको खुद नाफा एक अर्ब रुपैयाँभन्दा कम छ ।

समीक्षा अवधिमा लक्ष्मी बैंकको नाफा ३३.३१ प्रतिशत र नबिल बैंकको नाफा ८.९१ प्रतिशतले घटेको छ भने सबैभन्दा धेरै नाफा कमाएको ग्लोबल आईएमई बैंकको ४.१३ प्रतिशत र एनआइसी एशिया बैंकको नाफा १९.९६ प्रतिशतले बढेको हो ।

बाह्र बैंकको नाफा घट्यो

चालु आवको चैत मसान्तसम्ममा १२ वाणिज्य बैंकको खुद नाफा पोहोरभन्दा घटेको छ । यस अवधिमा लक्ष्मी, नेपाल बंगलादेश, बैंक अफ काठमाण्डू, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सानिमा १४.२० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक, कृषि विकास बैंक, प्राइम, नेपाल बैंक र कुमारी बैंकको नाफा घटेको हो ।

सबैभन्दा धेरै नाफा घटेको लक्ष्मी बैंकको अघिल्लो चैतको तुलनामा ३३.३१ प्रतिशत घटेर ८५ करोड ८९ लाखमा खुम्चिँदा सबैभन्दा कम नाफा घटेको कुमारी बैंकको ०.३२ प्रतिशत घटेर १ अर्ब ८० करोड २७ लाख खुद नाफा कमाएको छ ।

नाफा बढाउनेमा सेञ्चुरी र सिभिल अगाडि

समीक्षा अवधिमा नाफामा उल्लेख सुधार गर्नेमा कान्छा बैंकहरु अगाडि देखिएका छन् । ठूला वासलात र बिजनेश होल्ड गर्दै आएका बैंकहरुको नाफा घट्दा पछिल्लो समय उदायका उदयीमान बैंकहरुको नाफा उच्च बढेको हो ।

सेञ्चुरी कमर्सियल बैंकले गत चैतको तुलनामा १८३.५९ प्रतिशतले खुद नाफा वृद्धि गर्दै १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंक पहिलो पटक एक अर्बमाथि नाफा कमाउँदै अर्बपछि क्लबमा उक्लिएको हो ।

यसैगरी सिभिल बैंकले चैतसम्म ७९.९१ प्रतिशतले नाफा बढाउँदै ९० करोड ४१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नेपाल एसबिआई बैंकको ४७.९६ प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंक ३७.६१ प्रतिशत, एनसीसी बैंक ३५.१० प्रतिशत र माछापुच्छ्रे बैंकले २० प्रतिशतले नाफा बढाएको छ । यस अवधिमा नेपाल एसबिआई बैंकले १ अर्ब ३० करोड, स्ट्याण्डर्ड चार्टड बैंकले १ अर्ब ६२ करोड, एनसीसी बैंकले १ अर्ब ४८ करोड र माछापुच्छ्रे बैंकले १ अर्ब ५५ करोड माथि नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको यस अवधिमा आइपुग्दा एभरेष्ट बैंक, सिद्धार्थ, मेगा, सिटिजन्स, ग्लाबेल आईएमई, एनएमबि र हिमालयन बैंकको नाफा सिंगल डिजिट प्रतिशतमा बढेको छ । सनराइजले १३ प्रतिशत तथा एनआईसी एशिया बैंकले गत चैतको तुलनामा करिब २० प्रतिशतले नाफा बढाएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।