रामेछापमा पहिलो पटक जुनार बीमा

0
Shares

रामेछाप–रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत बिहीबार जुनार बीमा गरिएको हो ।

परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत जिल्लाको रामेछाप नगरपालिका ६ पुरानागाउँका ३ जना कृषकको ६ सय बोट जुनारको बीमा गरि किसानको बगैंचामा पुगेर बीमा लेख हस्तान्त्रण गरेको हो ।

बीमा गर्नु अघि जुनारको पिसिआर जाँच गर्दा स्वस्थ देखिएपछि बीमा गरिएको परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए । उनले जुनार बगैंचामा रोग लाग्न नदिन टोली बनाएर बिषादी छर्ने व्यवस्था भएको बताए ।

बिमा मार्फत आगलागी, चट्याङ, भुकम्प, अधिक वर्षा, बाढी, पहिरो, खडेरी, आँधी बेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक वाह्य दुर्घटना र रोगबाट हुने नोक्सानीको जोखिम बहन गरिने आइएमइ जनरल इन्स्योरेन्स रामेछापका प्रमुख विपिन भट्टराईले जानकारी दिए ।

उनले नोक्सानी भएमा अधिकतम बीमा रकमको सिमामा रही बास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी गरिने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।