शिखर इन्स्योरेन्सको नबिकेको ७७ हजार ७२० कित्ता हकप्रद सेयर लिलाममा

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले हकप्रदमा नबिकेको ७७ हजार ७२२ दशमलव ८८ कित्ता सर्वसाधारण तर्फको सेयर बोलकबोल लिलामबाट बिक्री गर्ने भएको छ ।

कम्पनीले बैशाख १९ देखि २६ गतेसम्म उक्त सेयरका लागि बोलपत्र आह्वान गरेको छ ।

यसअघि कम्पनीले चैत १ देखि २१ गतेसम्म चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । उक्त अवधिमा संस्थापकतर्फ सबै सेयर बिक्री भएपनि नबिकेको हकप्रद सेयर सर्वसाधारण तर्फको हो ।

कम्पनीको १० कित्ता सयर बराबर ३ कित्ता (१०ः३)को अनुपातको हकप्रदमा आवेदन दिएकामध्ये रितपूर्वक आवेदन परेका २७ हजार ७१० जना आवेदकलाई ५१ लाख ९७ हजार ८५१ दशमलव १२ कित्ता हकप्रद सेयर बैशाख ५ गते सोमबार बाँडफाँड गरेको हो ।

उक्त हकप्रद सेयरमा ९८.५३ प्रतिशतको आवेदन परेको थियो । आवेदन नपरेको उक्त ७७ हजार ७२२ दशमलव ८८ कित्ता सेयरको बोलकबाेल खुला गरिएको हो । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जानेगरी बीमा समितिले तोकेको प्रतिव्यक्तिको सीमाभित्र रही माग गरिए बराबरकाे कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरुः पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगर कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालयहरु, नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबोलपत्र आवेदन प्राप्त गर्न र बुझाउन सकिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
बोलपत्र पेश गर्दा प्रतिकित्ता १०० रुपैयाँभन्दा माथि प्रतिस्पर्धात्मक मूल्यमा आवेदन दिन सक्नेछन् ।

हाल दोस्रो बजारमा शिखरको सेयर मूल्य प्रतिकित्ता १ हजार १३५ रुपैयाँ छ । एक वर्ष अवधिमा कम्पनीको बजार मूल्य अधिकतम २ हजार ३४० र न्यूनतम १ हजार १०८ रुपैयाँसम्ममा कारोबार भएको छ ।

आर्थिक वर्ष २०७६।७७ बाट चुक्ता पूँजीको २७.७६ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.२२ प्रीतशत लाभांश वितरण गरेको कम्पनीले गत आव २०७७।७८ बाट समेत लाभांश वितरण गर्न बाँकी रहेको छ । यसअुसार लिलामी हकप्रद सेयर खरीद गर्नेले लाभांश समेत पाउनेछन् ।

हाल १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको शिखरको हकप्रद सेयरको लिलामी बिक्री प्रक्रिया सकिएपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ करोड ६० ालख ८१ ह्जार २०० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।