आईएमई जनरल इन्स्योरेन्सको ९१ हजार कित्ता शेयर लिलामीमा


आईएमई जनरल इन्स्योरेन्सले संस्थापक र साधारणतर्फको गरी ९१ हजार २०४ कित्ता शेयर लिलामी मार्फत बिक्री सुरु गरेको छ ।

इन्स्योरेन्सले निष्काशन गरेको ४० प्रतिशत हकप्रदमा आवेदन नपरेको संस्थापकतर्फको २ हजार २६१ कित्ता र ८८ हजार ९३४ कित्ता साधारण शेयर सोमबारदेखि लिलामीमा ल्याएको हो । बैशाख १२ गतेदेखि खुलेको लिलामी शेयरमा बैशाख २० गतेसम्ममा आवेदन दिनु सकिने इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

लिलामी शेयरमा आवेदन दिँदा ग्लोबल आईएमई क्यापिटलको बैंक खातामा रकम जम्मा गरेको भौचर आवेदनमा राख्नु पर्नेछ भने गुड फर पेमेण्ट चेक मात्र आवेदनसँगै बुझाउन सकिनेछ ।

क्यापिटलको कार्यालय नक्सालका साथै ग्लोबल आईएमई बैंकका बिर्तामोड, हनुमानदास रोड बिराटनगर, जनकपुर, ब्ीरगञ्ज, हेटौंडा, नारायणगढ, न्युरोड पोखरा, बुटवल, बागलुङ बजार, त्रिभुवन चोक नेपालगञ्ज, बिरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट लिलामी शेयरमा आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरमा चुक्ता पूँजीको ४० प्रतिशले हुने ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद गत चैतमा निष्काशन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।