एनएमबि बैंकलाई ईक्रा नेपालले दियो रेटिङ ‘ए’


ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकलाई रेटिङ ‘ए’ प्रदान गरेको छ । विगतको रेटिङ्गलाई स्तर बृद्धि गर्दै इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी आईआर ए’ रेटिङ्ग प्रदान गरेको हो । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ ।

ईक्रा नेपाल लिमिटेड भारत स्थित इक्रा लिमिटेड अफ इण्डियाको सहायक कम्पनीको रुपमा नेपालमा दर्ता भएको नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त नेपालको पहिलो रेटिङ्ग ऐजेन्सी हो ।

विगतका बर्षहरुमा विभिन्न संस्थाहरुसंग भएको मर्जर तथा प्राप्तीको सकारात्मक प्रभाव, सो पश्चात बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा संजालको कारण देशव्यापी रुपमा बैंकका ग्राहकहरुको संख्यामा उल्लेख्य बृद्धि तथा सोबाट बैंकको बजार हिस्सामा भएको बृद्धि, पूँजीगत पर्याप्तता तथा तरलताको सहज ब्यवस्थापनका कारण बैंकको कर्जा तथा तरलताको क्षेत्रमा देखिएको जोखिम व्यवस्थापन गर्नसक्ने क्षमता, कर्जामा भएको विविधता, साना तथा मझौला कर्जामा भएको बृद्धि, बैंकको सकारात्मक विगत, असल स्वामित्व तथा कुशल र अनुभवि व्यवस्थापन समेतका आधारमा ईक्रा नेपालले बैंकलाई यस अघि प्रदान रेटिङ्गमा स्तर बृद्धि गर्दै रेटिङ ‘ए’ दिएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“कोभिड १९ को असरको कारणले देशको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहेको समयमा समेत बैंकको परिसूचकहरुमा देखिएको उल्लेखित सुधारहरुले गर्दा यो स्तर बृद्धि सम्भव भएको हो,” विज्ञप्तिमा भनिएको छ ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु,१३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।