‘विदेशी मुद्रा सञ्चिति अझै घट्छ’ – गभर्नर अधिकारी


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल कायम विदेशी मुद्रा सञ्चिती अभाव अझै बढ्ने संकेत गरेका छन् । नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आर्थिक कृयाकलापसँगै रकमको माग अधिक बढ्ने भएकाले विदेशी मुद्राको सञ्चितीमा सुधार नआउने बताएका हुन् ।

कोभिड संक्रमण र त्यसको असर क्रमिक रुपमा बढिरहेको अवस्थामा अर्थतन्त्रमा त्यसको चाप प्रत्यक्ष रुपमा पर्ने भएकाले विदेशी मुद्रा सञ्चितीको हालको अवस्था झनै कमजोर बन्ने उनको भनाई छ ।

शोधनान्तर स्थिति खस्किँदै गएको र त्यसका सुधार तत्काल नआउने भन्दै त्यसले आयातलाई समर्थन गरिरहँदा समस्या बढ्ने उनको भनाई छ । अर्थतन्त्रको पुनरुत्थान हुँदै जाने बताएका गभर्नर अधिकारीले असहज अवस्थामा सबै पक्षले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

अर्थतन्त्रमा समस्या देखिँदै गएको अवस्थतामा केन्द्रिय बैंकले केही नीतिगत व्यवस्थाबाट अर्थतन्त्रलाई सहज बनाउने प्रयास गरेको बताएका अधिकारीले तरलता अभावका कारण व्याजदर बढेको बताए । रेमिट्यान्समा १ प्रतिशत बढी ब्याज, सुन चाँदीको आयातमा कडाई, रिपोदर वृद्धि, नगद मार्जिन, एनआरएनलाई डलर खाता, पुनरकर्जा दर ७ प्रतिशत कायम, घर जग्गा तथा सेयर कर्जा जोखिमको भार वृद्धि जस्ता व्यवस्थाले समस्या न्यूनीकरणमा मद्धत पुगेको उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्र बैंकको डेपुटी गभर्नर बम बहादुर मिश्रले कोभिडको समयमा लचिलो बनेको केन्द्रीय बैंक अहिले केही कसिलो बनेको बताए । व्यक्तिका आधारभुत आवश्यक्ताका वस्तुहरु खाना, लुगा लगायतका वस्तुको आयातमा भर पर्नु परेका कारण बाह्य क्षेत्रमा दवाब परेको उनको भनाई थियो ।

नेपाल राष्ट्र बैंक कर्मचारीका संघका अध्यक्ष रुद्र तिम्सिनाले सूचना चुहाउने काम राष्ट्र बैंकका सञ्चालकबाटै हुने गरेको आरोप लगाए । शक्तिको बलमा वित्तीय माफिया र भ्रष्टहरुले सरकारलाई प्रभावमा पारेर राष्ट्र बैंकमाथि प्रहार गरेको भन्दै उनले जिम्मेवारी निर्वाह गर्नेभन्दा बाह्य व्यक्तिहरु शक्तिशाली हुने गरेको बताए ।

राष्ट्र बैंकको नेपाल वित्तीय संस्था कर्मचारी संघ अध्यक्ष राजिव शर्मा रेग्मीले राष्ट्र बैंकको स्वायत्तताको विषयमा पछिल्ला दिनमा घटेका घटनाले संस्था कमजोर बनाउने बताएका थिए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशमबहादुर बल्छौँडीले राष्ट्र बैंक सहयोगी बन्दै गर्दा सरकारबाट प्रहार भएको र त्यसमा राष्ट्र बैंककै केही व्यक्ति तथा कर्मचारीले मलजल गरेको आरोप लगाएका थिए ।

६७ औं वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंकले पूर्व गभर्नर डा. तिलक रावल तथा सेवा निवृत्त भएका पूर्व कार्यकारी निर्देशक र २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीलाई सम्मान गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।