अपि पावरको हकप्रदमा आवेदन दिने अन्तिम दिन


अपि पावर कम्पनी लिमिटेडले निष्काशन गरिरहेको हकप्रद सेयरमा बिहीबारसम्म मात्र आवेदन दिन पाइने छ । कम्पनीले सूचना प्रकाशित गर्दै सेयरधनीहरुलाई बिहीबार (बैशाख १५ गते) बैंकिङ समय भित्र हकप्रदमा आवेदन गरिसक्न भनेको हो ।

कम्पनीले गत चैत २५ गतेदेखि १ अर्ब ८ करोड रुपैयाँ बराबरको हकप्रद बिक्री खुला गरेको थियो । कम्पनीले १ कित्ता सेयर बराबर नयाँ ०.३९३६ कित्ता अर्थात ३९.३६ प्रतिशतको अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्काशन गरेको हो ।

चैत १३ गते आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि कम्पनीले चैत १४ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो ।

अपि पावरको हकप्रद सेयर खरीदका लागि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयर मोबाइल एप, मेरो सेयर सफट्वेयर, नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा तथा ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरिया शाखा कार्यालय कार्यालय समेत हकप्रद भर्न सकिन्छ ।

हकप्रदमा बैशाख १५ गतेसम्म आवेदन नदिने सेयरधनीहरुको सेयर भने कम्पनीले लिलामीबाट बिक्री गर्नेछ । कम्पनीको हकप्रद निष्काशनको प्रबन्धक मुक्तिनाथ क्यापिटल हो ।

हकप्रद सेयर निष्काशनका लागि कम्पनीले गराएको साख मूल्याङ्कनमा क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बीप्लस आईएस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाका लागि वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।