आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यम काउन्सिलको कारवाहीमा


स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कुल ३५ सञ्चार माध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । बुधबार अनुगमनबारेको कार्यप्रगति विवरण समेटिएको विज्ञप्ति जारी गर्दै काउन्सिलले सो जानकारी गराएको हो ।

काउन्सिलले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने चार वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारवाही गरिएको उपप्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिए । साथै सञ्चार माध्यमलाई निर्वाचन आचारसंहिता परिपालनामा गम्भीर बन्न काउन्सिलले
आग्रह पनि गरेको छ ।

स्थानीय तह निर्वाचनका सन्दर्भमा २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको थियो । निर्वाचन आचारसंहिता लागू भएपश्चात् निर्वाचन आयोगसँगको सम्झौताअनुसार काउन्सिलले देशभरका सञ्चार माध्यमहरूको अनुगमन गरिरहेको छ । सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्काल कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई समेत काउन्सिलले गराउँदै आएको छ ।

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये ४ वटालाई २४ घण्टे पष्टीकरण माग गरिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको भन्दै प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएको काउन्सिलले जनाएको छ । सोहीअनुसार २ वटा सञ्चारगृहले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएको काउन्सिलले जनाएको छ । यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई आचारसंहिता कार्यान्वयनका लागि निर्देशन दिइएको उपप्रशासकीय अधिकृत बोहराले जानकारी दिए ।

दुई वटा अनलाइनबाट निर्देशन पश्चात् पनि आचारसंहिता प्रतिकूल सामग्री पुनः सम्प्रेषण भएपछि सचेत गराइएको काउन्सिलले जनाएको छ । त्यस्तै ४ वटा सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराइएको बोहराले बताए ।

आगामी दिनमा दल तथा उम्मेदवारबारेमा प्रचार प्रसारमा तीव्रता आउने हुँदा निर्वाचन सन्दर्भमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पु¥याउन सञ्चार माध्यमलाई काउन्सिलले आग्रह गरेको छ । गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पु¥याउने गरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन काउन्सिलले सबैमा आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।