निर्वाचन आचारसंहिताको कार्यान्वयन कसरी भइरहेको छ ?
निर्वाचन आयोगले संवत् २०७८ चैत २५ देखि आचारसंहिता लागू हुनेगरी निर्णय गरेको छ । नाचारसंहिता वास्तवमा सबैले अनुशासित भएर कानूनमा उल्लेख भएका विषयहरू राम्रोसँग परिपालना गर्नुपर्छ भन्ने सन्देश हो । यो हालमात्र नयाँ तर्जुमा भएको विषय होइन । संविधान, ऐन, नियम र प्रचलित कानूनमा समेटिएका विषयवस्तुलाई आचारसंहिताको स्वरूपमा राखिएको हो । राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ सङ्गठन, सार्वजनिक पदाधिकारी र मतदाता सबैले एउटै कानूनी लिखतभित्र गर्नुहुने र नहुने विषयको जानकारी पाऊन् भनेर आचारसंहिता जारी गरी लागू गरिएको हो ।
आयोगबाट आचारसंहिता लागू भइसकेपछि उम्मेदवारको मनोनयनपत्र पनि दर्ता भएको छ । मनोनयनपत्र दर्ता भइसकेपछि मत माग्न उम्मेदवार, दलका नेता तथा कार्यकर्ताहरू मतदाता समक्ष जानुहुन्छ । उहाँहरूले आचारसंहिताको पालना गर्ने र उल्लब्घन समेत हुनसक्ने मुख्य समय यही हो । कसैले आचारसंहिता पालना नगरेको विषयमा कुनै उजुरी वा सूचना आयोगमा प्राप्त भएपछि त्यसलाई दर्ता गरी आचारसंहिता उल्लब्घन गर्ने जोसुकैलाई पनि स्पष्टीकरण माग्ने काम हुन्छ । हाल केही दल र नेतासँग मागेको स्पष्टीकरणको प्रतिक्रिया पनि आइसकेको अवस्था छ । आचारसंहिता उल्लब्घन सम्बन्धी परेको उजुरीका घटनाको निर्णय गर्ने प्रक्रियामा आयोग पुगेको छ । केही विषय छानविनकै अवस्थामा छन् । यसरी अनुगमन गर्ने तथा आचारसंहिता विपरीतका कामको उजुरी प्राप्त गरी कारवाही प्रक्रिया अगाडि बढाई आचारसंहिताको कार्यान्वयन गरिएको छ ।
आचारसंहिता उल्लब्घनका घटनामा अनुगमन गर्ने संयन्त्र कस्तो छ ?
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि चार तहमा अनुगमनका संयन्त्रहरू छन् । केन्द्रीयस्तरमा आयोगको एकजना आयुक्तको संयोजकत्वमा अनुगमन समिति छ । जिल्लामा
मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा अनुगमन समिति छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रस्तरीय समिति छ । त्यसैगरी स्थानीय तहमा समेत अनुगमन समितिको व्यवस्था छ । ती समितिहरू आआफ्नो क्षेत्रमा क्रियाशील भएका छन् । अनुगमनको कार्य निरन्तर रूपमा भइरहेको छ । राजनीतिक दलका प्रतिनिधिलाई पनि ती समितिमा आमन्त्रण गर्ने व्यवस्था छ । सो अनुसार दलका नेता, उम्मेदवार, कार्यकर्ताहरू एवम् मतदाताहरू आचारसंहिताको कार्यान्वयनमा सजग हुनुहुन्छ भन्ने हाम्रो पवित्र बुझाई छ । आयोगले विभिन्न सञ्चार माध्यमबाट हुनसक्ने आचारसंहिताको उल्लब्घनलाई नियमन गर्न प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासब्घसँग सहकार्य गरी अनुगमन भइरहेको छ । सामाजिक सञ्जालबाट हुने आचारसंहिताको उल्लब्घनलाई नियमनको दायरामा ल्याउन विशेषज्ञसहितको कार्यदल गठन गरी सो कार्यदलले अनुगमन गरिरहेको अवस्था छ ।
आचारसंहिताको उल्लब्घन भएमा के कस्तो कारवाही हुन्छ ?
सम्बद्ध सबै पक्षबाट निर्वाचन आचारसंहिताको पूर्ण परिपालना हुन्छ भन्ने कुरामा आयोग विश्वस्त छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न आयोग कटिबद्ध छ । आचारसंहिता पालना नभएको अवस्थामा उल्लब्घनकर्ता सजायको भागिदार हुनुपर्छ । जानी जानी सजायको भागी हुने रहर सायद कसैलाई पनि हुँदैन । तसर्थ हरेक सचेत नागरिकबाट यसको पूर्ण परिपालना हुन्छ । आयोगले उजुरीको आधारमा नभई आफैँले नियमित अनुगमन समेत गरिरहेको छ । आयोगका सबै आयुक्तहरू आफैँ खटेर पनि विभिन्न ठाउँमा अनुगमन गरिरहेका छौं । काभ्रेपलाञ्चोक जिल्लाको तीन ठाउँमा म आफैँ पनि अनुगमन गर्न गएको थिएँ ।
उल्लङ्घन भएको ठाउँमा रेकर्ड गरेर आयोगमा प्रतिवेदन पठाउन भनेका छौँ । राजनीतिक दलको केही कार्यक्रममा मापदण्डभन्दा बढी झण्डा प्रयोग भएको, टिसर्टहरू प्रयोग गरेको देखिएको छ । त्यसैलाई पनि हामीले नोटिसमा लिएर कारवाहीको प्रक्रिया अघि बढाएका छौं । चन्द्रगिरी नगरपालिका ८ को कार्यालयमा साडी बाँड्ने कार्यक्रम तय भएको सूचना प्राप्त भएपश्चात् तुरुन्त हामीले रोक्न निर्देशन दियौं । त्यो कार्यक्रम तत्क्षण स्थगित भएको जानकारी आयो । हामीले लिखित रूपमा पनि स्पष्टीकरण सोधेका छौं । आयोगले सोधेका स्पष्टीकरणको जवाफ प्राप्त भइरहेको छ । उक्त स्पष्टीकरणहरूउपर आयोगले आवश्यक कारवाही गर्छ । आयोगको जानकारीमा आएसम्म आचारसंहिता उल्लब्घनका घटनालाई नियन्त्रण गर्नेगरेको छ ।
आम नागरिकले पनि त्यस्ता आचारसंहिता विपरीतका कार्यहरू भएगरेको अवस्थामा आयोग र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी तथा सूचना दिन सकिन्छ । जुनसुकै माध्यमबाट सूचना प्राप्त भयो भने त्यसलाई तत्काल आवश्यक कारवाही प्रक्रियामा लगी आचारसंहिता उल्लङ्घन भएको वा हुँदै गरेको विषयमा कारवाही गर्ने गरिएको छ ।
सामाजिक सञ्जालबाट पनि कुनै उम्मेदवारको व्यक्तिगत चरित्रहत्या गर्नेगरी कुनै सूचना सम्प्रेषण गर्न पाइँदैन, तर कतिपय मिडियाकर्मी र सर्वसाधारणबाट सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लब्घन भइरहेको सूचना आयोगलाई प्राप्त भइरहेको छ । त्यस्तो ठाउँमा हामीले प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघसँग समन्वय गरेर आचारसंहिता उल्लब्घनका घटनाको न्यूनीकरणको पहल गरिरहेका छौँ । गम्भीररूपमा आचारसंहिता उल्लब्घन भएको ठाउँमा आयोगले कानूनअनुसार कारवाही गर्छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ मा भएको कानूनी व्यवस्थाबमोजिम आयोगले कसैबाट आचारसंहिता पालना नभएकोमा त्यस्तो काम कारवाही रोक्न आदेश दिन सक्छ । त्यस्तो आदेशबमोजिम काम कारवाही नरोक्ने जोकोहीलाई आयोगले एक लाख रुपियाँसम्म जरिवाना गर्न सक्छ । कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यस्तो उम्मेदवारको उम्मेदवारी समेत रद्द गर्नसक्छ । कारवाही गर्ने अधिकार आयोगसँग सुरक्षित छ । आचारसंहिता उल्लब्घनका गम्भीर घटना पनि छन् । तर न्यून छन् । त्यस्ता उल्लब्घनका घटनाहरूमा आयोगले कारवाही गरी सार्वजनिक गर्नेछ । समग्रमा निर्वाचन आचारसंहिताको कार्यान्वयन अपेक्षाकृत राम्रो छ । आयोग यसबाट उत्साहित नै छ ।
प्रतिक्रिया