जबरजस्ती नयाँ उडान तालिका कार्यान्वायन गर्न खोजे सबै उडान बन्द गर्ने वायु सेवा सञ्चालकहरुको धम्की


आन्तरिक उडानतर्फको अस्तव्यस्त उडान तालिका तथा चाप व्यवस्थापन गर्न भन्दै नागरिक उड्डयन प्राधिकरणको संशोधित उडान तालिकाको विरुद्धमा वायु सेवा प्रदायकहरुले बिरोध जनाएका छन् । वायु सेवा प्रदायकहरुको छाता संगठन वायु सेवा सञ्चालक संघले प्राधिकरणको नयाँ तालिका अनुसार उडान गर्न नसक्ने भन्दै त्यसो गर्न परेको खण्डमा हालका सबै उठान ठप्प पार्ने धम्की दिएका हुन् ।

प्राधिकरणले केही विमानस्थलमा बिहान ६ बजेदेखि राती १२ बजेसम्म उडान भरेर हवाई चाप व्यवस्थापन गर्ने योजना अनुसार हवाई सेवा प्रदायकहरुलाई विद्यमान तालिका (स्लट) संशोधन गर्न निर्देशन दिएको थियो । प्राधिकरणले बैशाख १४ गते बुधबार वायु सेवा प्रदायकहरुलाई नयाँ तालिका पठाउँदै सोही अनुसार स्वीकृति लिन निर्देशन दिए लगत्तै सेवा प्रदायकहरुले प्राधिकरणको योजना अनुसार सेवा प्रवाह गर्न नसकिने बताएका हुन् । आफुहरुसँग यस सम्बन्धमा कुनै छलफल नगरी एकलौटी रुपमा नयाँ उडान तालिका ल्याइएको उनीहरुको आरोप छ ।

राती ८ बजे पछिका उडान सञ्चालन गर्न नसकिने विषयका साथै पुर्वाधार र सम्भावनाका सम्बन्धमा वायु सेवा प्रदायकहरुले प्राधिकरणसँग छलफल गर्न खोजे पनि प्राधिकरणले छलफल नगरी नयाँ उडान तालिका जारी गरेको संघको आरोप छ । संघले प्राधिकरणद्धारा जारी नयाँ उडान तालिका पुर्ववत अवस्थामा नलगेको खण्डमा सबै उडान बन्द गर्ने धम्की दिएको हो । संघले बैशाख ३ गतेभन्दा अघिको उडान तालिका कार्यान्वायन गर्न माग गर्दै नयाँ तालिका अनुसार आफुहरुले उडान गर्न नसक्ने बताएको हो ।

बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुण एयरलाइन्सलाई प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप व्यवस्थापनका लागि भन्दै बैशाख १४ गते संशोधित उडान तालिका स्वीकृतिका लागि प्राधिकरणमा पठाउन निर्देशन दिएको थियो । प्राधिकरणले सबै वायु सेवा प्रदायकलाई तालिका पठाएर सोही अनुसार संशोधन स्वीकृति लिन भनेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पु¥याउने निर्णय गरेको थियो ।

प्राधिकरणले रात्रिकालीन उडानयोग्य विमानस्थलहरु भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढीलाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिन चार घण्टा कुर्नुपर्ने बाध्यता छ । यात्रुको अत्यधिक चाप व्यवस्थापन गर्न विमानस्थललाई कठिनाइ भइरहेको छ । यो अवस्थामा प्राधिकरणले आवश्यक तयारी नगरी वायु सेवा प्रदायकहरुलाई मात्र जिम्मेवार बनाउन खाजेको भन्दै वायु सेवा सञ्चालकहरुले बिरोध जनाएका हुन् ।

बिहीबारदेखि आन्तरिक उडान १८ घण्टाः यस्तो छ एयरलाइन्सको तयारी

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।