आइतबार बिदा दिँदा उद्योगी व्यवसायीलाई समस्याः समुद्रपार निकासी पैठारी संघ


नेपाल समुद्रपार निकासी पैठारी संघले आगामी जेठ १ गतेदेखि लागू हुने गरी साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारको यो निर्णयबाट सरकारका प्रशासनिक निकायबाट नियमित काम लिनुपर्ने एवं बैंक, वित्तीय संस्था र बीमा कम्पनीसँग कारोबार गर्नुपर्ने उद्योग, व्यवसायको क्षेत्रमा भन् झन् कठिनाइ उत्पन्न हुने संघले जनाएको छ ।

“बैंक, वित्तीय संस्थाहरु हप्तामा लगातार दुई दिन बन्द हुँदा आयातित वस्तुको भन्सार जाँचपास प्रक्रिया लम्बिन गई औद्योगिक कच्चा पदार्थ एवं अन्य वस्तु आयातकर्ता व्यवसायीमाथि विलम्ब शुल्क र डेमरेजको भार थपिने यस संघको ठहर छ । बैंक, वित्तीय संस्थामार्फत हुने आर्थिक कारोबार पनि प्रभावित भई उद्योग, व्यवसायमा नकारात्मक असर पर्न सक्छ । अतः सरकारी कार्यालयहरु हप्ताको दुई दिन बन्द गरे पनि बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरु हप्तामा एक दिनमात्र बिदा गर्न संघ जोडदार माग गर्दछ,” संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सामान्य अवस्थामा पनि ढिलासुस्ती हुने सरकारी कार्यालयहरु दुई दिनको बिदाले कर्मचारीको कार्यसम्पादनलाई चुस्तदुरुस्त तथा छिटोछरितो बनाउन नसक्ने भन्दै संघले साबिककै जस्तो परिपाटी रहन सक्ने भन्दै मुलुकलाई दीर्घकालसम्म घातक हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।