अर्थतन्त्रमा देखिने अनिश्चितताबाट मुक्ति दिलाउन मोरङ व्यापार संघको आग्रह


अर्थतन्त्रमा समय समयमा आउने अनिश्चितताका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाई भएको भन्दै मोरङ व्यापार संघले निर्वाध रुपमा व्यापार व्यवसाय गर्ने वाताबरण बनाउन आग्रह गरेको छ ।

बिराटनगरमा आयोजित आर्थिक वहस कार्यक्रममा संघका अध्यक्ष नवीन रिजालले अर्थतन्त्रको पक्षबाट राष्ट्र अत्यन्त जटिल अवस्थामा रहेको बताए ।

निजी क्षेत्रले भोग्नु परेको तरलता संकटसँगै विद्युत आपूर्तिमा भएको कटौतीले निजी क्षेत्र दोहोरो मारमा परेको रिजालले बताए । अर्थतन्त्रका विभिन्न पक्षहरुमा देखा पर्ने अनिश्चितताको अवस्था (तरलता संकट र विद्युत कटौती) लगायतबाट मुक्त भई निर्वाधरुपमा उद्योग, व्यापार, व्यवसाय गर्न पाउने अवस्थाको सुनिश्चितता उद्योगी व्यवसायीको पहिलो प्राथमिकतामा रहेको उनको भनाई थियो ।

अर्बाैं मूल्यका बस्तुहरुको उत्पादन र आपूर्ति हजारौंको संख्याका श्रमिकहरुको जीवनयापनको स्रोत जस्ता महत्वपूर्ण पक्षहरु राज्यको संबोधनमा नपरेको बताएका उनले ४२ खर्बको जि.डि.पी., १६ खर्बको वजेट र झण्डै १७ खर्बको वार्षिक व्यापार घाटासँगै तीव्र गतिमा वढ्दै गएको ऋणात्मक भुक्तानी सन्तुलनले देशको अवस्था गम्भीर भएको बताए ।

विभिन्न आर्थिक सूचकहरुको प्रक्षेपणमा समेत सरकार चुक्ने गरेको बताएका रिजालले नतिजामा मेल खाने अवस्था नआउनुको कारण गलत प्रक्षेपण नै रहेको बताए ।

विभिन्न राजनितिक दलहरुलाई विद्यूत, पानी लगायतका सेवा निशुल्क उपलब्ध गराउने व्यवस्थामा लाग्न आग्रह गर्दै रिजालले सपीङ मल, अस्पताल, विद्यालय, कलेजका शुल्कहरु ५ वर्षका लगि ५० प्रतिशत मात्र तिर्नु पर्ने व्यवस्थामा जोड दिए ।

प्रदेश सरकारसँग प्रत्येक पाईलामा हातेमाले गर्दै अगाडी वढन निजी क्षेत्र अग्रसर रहेको बताएका रिजालले सरकारी निकायहरुवाट प्रदान गरिने सेवा र सुविधामा नियमितता, पारदर्शिता र निरन्तरताको सुनिश्चिततामा जोड दिएका थिए ।

उद्योग, कलकारखानाको संरचना वर्षौंसम्म पनि एउटै अवस्थामा रहने गरेको भन्दै रिजालले तेस्रो पुस्ताको औद्योगिक अवधारणामा काम गर्नु पर्ने बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।