उद्योग संगठन मोरङद्धारा श्रम दिवसका अवसरमा श्रमिक सम्मान


अन्तराष्ट्रिय श्रमिक दिवश (मई दिवश) को अवसर पारेर उद्योग संगठन मोरङले श्रमिक सम्मान कार्यक्रमको आयोजना गरेको छ । श्रमिक दिवशका अवसरमा आयोजित एक कार्यक्रममा संगठनले एक महिला र एक पुरुष श्रमिकलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा हिमगिरी हाइजिन प्रा.ली, बुढिगंगामा २५ बर्षदेखि कार्यरत महिला श्रमिक द्रोपदी राय र जय श्री कम्पनी प्रा.लि. मा ३७ बर्षदेखि अनवरत रुपमा कार्यरत पुरुष श्रमिक महेश चौधरी रहेका छन । सम्मानितद्धयलाई संगठनका कार्यबाहक अध्यक्ष प्रदीप मुरारकाले खादा, माला, सम्मान–पत्र र जनही नगद एघार हजार रुपैंया पुरस्कार सहित सम्मान गरेका थिए ।

संगठनले विश्वभरिका श्रमिकहरुको महान दिनको रुपमा रहेको मई दिवश श्रमिक र रोजगारदाताहरुले साझा रुपमा एकाकार गर्दै मनाउने सन्दर्भमा यस बर्ष १३३ औं अन्तराष्ट्रिय श्रमिक दिवशका अवसरमा सुभकामना आदान प्रदान तथा श्रमिक सम्मान कार्यक्रम आयोजना गरेको हो ।

संगठनको सचिवालयमा आयोजित कार्यक्रममा श्रमिक दिवशको सुभकामना दिदै संगठनका कार्यवाहक अध्यक्ष प्रदीप मुरारकाले श्रमिक र रोजगारदाताको सम्बन्ध नङ र मासु जस्तो भएको बताए । रोजगारदाता र ट्रेड युनियन बिचको सम्बाद र सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार र श्रम सम्बन्धी समस्याको समाधान भईरहेको बताएका उनले आगामी दिनमा थप शशक्त समझदारी र सहयोगका साथ सहकार्य गर्दै अघि बढ्न मे दिवशले थप उर्जा प्रदान गर्ने बताए ।

संगठनका उपाध्यक्ष (रोजगारदाता) भोलेश्वर दुलालले श्रमिक र रोजगारदाता एक अर्कासंगको सहकार्य विना अस्तित्वमा नरहने भन्दै संगठनले असल श्रम सम्बन्धलाई सधै प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा सार्क ट्रेड युनियन महासंघका महासचिव एवं ट्रेड युनियन काँग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले मे दिवशका अवसरमा आयोजित यस्ता कार्यक्रमले रोजगारदाता र श्रमिकको सम्बन्धमा थप निकटता ल्याउने विश्वास व्यक्त गरे । सो अवसरमा नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष किशोर धमला, नेपाल ट्रेड युनियन काँग्रेसका प्रदेश अध्यक्ष नारायणबाबु कार्की लगायत ट्रेड युनियनका नेताहरु एवं २५० भन्दा बढि श्रमिकहरुको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।