पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत, पेट्रोल पम्पमा सेवाग्राहीको भीडभाड हुन थाल्यो


भारतीय आयल निगमले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएसँगै नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत निगमले दिएको छ । योसँगै पेट्रोलियम पदार्थको बिक्री वितरणमा सुस्तता आउँदा सेवाग्रही पेट्रोल पम्पमा लाइन लाग्न थालेका छन् ।

मे १ देखि लागू हुने गरि आएको नयाँ मूल्य अनुसार आयल निगमको घाटा २ सातामा ५ अर्ब १९ करोड ६ लाख रूपैयाँ पुग्ने अनुमान निगमले गरेको छ ।

नयाँ मूल्य सूची अनुसार २ सातामा पेट्रोलमा ७१ करोड ८३ लाख, डिजेलमा ३ अर्ब पाँच करोड पाँच लाख र एलपी ग्यासमा १ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

मट्टितेलमा २८ लाख, हवाई इन्धन (आन्तरिक) मा ३ करोड ६५ लाख र हवाइ इन्धन –बाह्य) मा २८ करोड ४४ लाख रुपैयाँ नाफा हुने र उक्त नाफालाई पट्रोल, डिजेल र ग्यासको घाटामा समायोजन गर्दा ५ अर्ब १९ करोड ६ लाख रुपैंया घाटा हुने निगमले जनाएको हो ।

पेट्रोलमा निगमलाई प्रतिलिटर २३ रुपैयाँ, डिजेलमा प्रतिलिटर ४० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर एक हजार ५० रुपैयाँ घाटा पर्ने भएसँगै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउन सक्ने देखिएको हो ।

मूल्य स्थिरीकरण कोषका साथै अन्य सञ्चिती कोषमा रहेको रकम विगतको घाटा व्यवस्थापनमा सकिएको र मै महिनामा भारतीय आयल निगमलाई १० अर्ब रुपैंया भुक्तान गर्नु पर्ने निगमले जनाएको छ । सबै कोष रित्तो भईसकेको अवस्थामा भुक्तानी गर्नका लागि निगमले मूल्य बढाउने संकेत गरेको हो ।

यस्तो संकेत पाउना साथ पेट्रोलियम पदार्थका बिक्रेताहरुले स्टक बढाउन थालेका छन् । अर्कातिर सेवाग्रही आवश्यक्ताभन्दा बढी इन्धन भर्न जाने हुन थाले पछि पेट्रोल पम्पहरुमा उपझेक्ताको लाइन देखिन थालेको छ ।

निगमले आफ्ना बिक्रेताहरुले स्टक बढाउन थालेको सम्बन्धमा सुक्ष्म निगरानी गर्नु पर्ने देखिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।