हिमालयन र एभरेष्ट इन्स्योरेन्सको स्वाप १ : १ भए मात्र तोकिएको पूँजी पुग्ने !

0
Shares

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर हुने भएका छन् । बिहीबार दुई बीमा कम्पनीबीच मर्जर हुने सम्झौता भएको हो ।

बीमा क्षेत्रमा नै पहिलो पटक मर्जरमा जान लागेका दुबै कम्पनीको वित्तीय अवस्था खासै फरक भने छैन । एक आपसमा गाभ्ने-गाभिने प्रयोजनका लागि तय हुने स्वाप रेसियो भने ड्यू डेलिजेन्स अडिट (डीडीए) पछि मात्र निर्धारण हुने भएको छ ।

तत्कालका लागि मर्जर प्रक्रिया अघि बढाउने भनेर हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको एभरेष्ट इन्स्योरेन्सका ठूला लगानीकर्ता तथा व्यवसायी राजेन्द्र खेतानले नाेटबजारलाई बताए । “स्वाप रेसियो डीडीले रिपाेर्टले जे भन्छ त्यही गर्ने सहमति भएको छ,” खेतानले भने,“डीडीएले ५० भनेको खण्डमा सोही कायम गर्ने गरी प्रारम्भिक प्रक्रिया सुरु भएको हो ।”

अब दुबै कम्पनीले धितोपत्र कारोबार रोक्का गरेर बीमा समीतीमा मर्जर प्रक्रियाको अनुमतीका लागि बीमा समीतीमा निवेदन दिन्छन् । समितिले स्वीकृति दिएपछि दुवै कम्पनीको संयुक्त डीडीए नियुक्त हुन्छ । सोही डीडीएले कायम गरेको स्वाप जति भएपनि मान्ने गरी प्रक्रिया अघि बढेको खेतानको भनाई छ ।

डिडिए रिर्पोटपछि स्वाप तय गर्नेगरी हिमालयन र एभरेस्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता

एभरेष्ट इन्स्योरेन्समा व्यवसायिक घराना खेतान समुहको ठूलो लगानी रहेको छ । हिमालयन नरलको मुख्य सेयरधनीमा राजकृष्ण श्रेष्ठ, विक्रम कृष्ण श्रेष्ठ र महेन्द्रकृष्ण श्रेष्ठ लगायतको मुख्य लगानी रहेको छ ।

मर्जर प्रक्रियामा रहेको हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब १७ करोड रहेको छ भने एभरेष्टको एक अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

बीमा समितिले आगामी चैत अन्तिमसम्ममा निर्जीवन बीमा कम्पनीको चूक्ता पूँजी साढे २ अर्ब पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ । यी दुई कम्पनी मर्जरमा जाँदा एक बराबर एकको स्वाप अनुपातमा कायम भएको खण्डमा चुक्ता पूँजी २ अर्ब ४३ करोड पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा हिमालयनले १७ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ भने एभरेष्टले २७ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

सो अवधिमा हिमालयन जनरलको खुद नाफा ५ करोड २२ लाख छ भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँ रहेको छ । सो अवधिमा हिमालयनकाे नेटवर्थ प्रतिसेयर १७८.५४ रुपैयाँ छ भने एभरेष्टको १७३.५१ रुपैयाँ रहेको छ । धितोपत्रको दोस्रो बजारमा दुबै कम्पनीको सेयर मूल्य पनि उस्तै छ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रतिशेयर कूल सम्पत्ति २६०.९७ रुपैयाँ छ भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको २४०.२१ रुपैयाँ रहेको छ । त्यस्तै मर्जरपछि दुई कम्पनीका देशैभरि ६० वटा भन्दा बढि शाखा कार्यालयबाट करिब ४०० जना कर्मचारीबाट सेवा प्रवाह हुनेछ ।

दुई कम्पनीले आगामी असार भित्रै मर्जर पूरा गर्ने सहमति गरेका छन् । मर्जर पछि बन्ने कम्पनीको नाम, सीईओ, सञ्चालक को रहने भन्ने विषय संयुक्त मर्जर कमिटीले तय गर्ने एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले नाेटबजारलाई जानकारी दिए ।

दुई निर्जीवन बीमा कम्पनीहरूको मर्जरमा जाने एमओयूले अन्य कम्पनीलाई पनि मर्जरमा जान दबाब सिर्जना गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।