शिखर इन्स्योरेन्सको लिलामी सेयरमा मंगलबारसम्म आवेदन दिन सकिने

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) को अवितरित हकप्रद सेयरको लिलामीमा बैशाख २७ गते मंगलबारसम्म बोलपत्र पेस गर्न सकिने भएको छ ।

कम्पनीले बैशाख १९ गते सोमबारदेखि हकप्रदमा बिक्री नभएको ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामीमा राखेको थियो ।

यसअघि प्रकाशित सूचनामा बोलपत्र पेस गर्ने आज ( वैशाख २६ गते सोमबार) अन्तिम दिन रहेको थियो । सरकारले बैशाख २० गते इदको सार्वजनिक विदा दिएका कारण एक दिन समय थप गरिएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालय शाखा कार्यालयहरु पुतलीसडक, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज र विराटनगर तथा नेपाल इन्भेस्टमेन्ट बैंकका शाखाहरु नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुलसीपुर, सुर्खेत, नेपालगन्ज र धनगढीबाट मंगलबार कार्यालय समयभित्र पेश गर्न सकिनेछ ।

लिलामीमा सेयरमा बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा बोलपत्र पेस गर्नुपर्नेछ । लिलामी राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसअनुसार प्रतिसेयर १०० रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्यमा बोलकबोल गर्न सकिनेछ ।

कम्पनीले गत चैत १ गतेदेखि चैत २१ गतेसम्म चुक्ता पूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको ३० प्रतिशत (१ः०.३ अनुपातमा) ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गरेको थियो । सो हकप्रदमा अवितरित सर्वसाधरण समूहतर्फको ७७ हजार ७२० दशमलव ८८ कित्ता सेयर कम्पनीले बैशाख १९ गते सोमबारदेखि लिलामीमा राखेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।