रुपैयाँ हालसम्मकै कमजोर, डलर बलियो हुँदा रेमिट्यान्समा सुधार आए पनि महंगी झनै बढ्ने


अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर भएपछि त्यसको असर नेपाली मुद्रामा देखिएको हो ।

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा मंहगी झनै बढ्ने खतरा बढेको छ । पछिल्लो समयमा मूल्यवृद्धि वार्षिक ७.१७ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो भएपछि आयातका लागि धेरै नेपाली मुद्रा खर्चेर डलरमा आयात गर्नु पर्दा मूल्य वृद्धि बढ्ने जोखिम बढेको हो ।

पछिल्लो समयमा विदेशी मुद्रा सञ्चितिमा परेको दवाब कम गर्नका लागि सरकारले आयात निरुत्साहित गर्ने नीति अबलम्बन गरेको छ । त्यसले गर्दा आयात केही कमी भएको पनि छ ।

आयातमा गरिएको नियन्त्रणका कारण डलर बलियो हुँदै गर्दा पनि मूल्य वृद्धिमा ठूलो दबाब नपर्ला । तर, आयातमा गरिएको नियन्त्रण दीर्घकालिन नभई अल्पकालिन भएको हुनाले महंगी बढ्ने निश्चित छ ।

मंगलबार एक अमेरिकी डलर खरिद गर्दा १२३ रुपैयाँ ६५ पैसा खर्चनुपर्ने भएको छ । त्यसैगरी एक डलर बिक्री गर्दा १२४ रुपैयाँ २५ पैसा लागत पर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । यसभन्दा अघि नेपाल राष्ट्र बैंकले सन २०२० मार्च १७ गते एक अमेरिकी डलर खरिद गर्दा १२२ रुपैंया ६८ पैसा र बिक्री गर्दा १२३ रुपैयाँ २८ पैसा कायम गरेको थियो ।

डलर बलियो भएको खण्डमा रेमिट्यान्सको आप्रवाह बढ्ने सम्भावना हुन्छ । तर, आयातमा आधारीत अर्थतन्त्र भएकाले उच्च आयातका लागि धेरै खर्च गर्नु पर्दा महंगी बढ्ने जोखिम पनि उत्तिकै हुने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोख्रेलले बताए । “नेपालको विदेशी विनिमय फिक्स र पेग प्रणालीमा रहेको छ,” उनले भने, “यसमा भारतीय मुद्रासँग फिक्सड र अन्य मुलुकको मुद्राको सन्दर्भमा भारतीय रुपैयाँसँग पेग गरिएको छ ।”

भारतीय मुद्रामा आएको उतारचढाका आधारमा नेपालका लागि अन्य देशको मुद्रासँगको विनिमय दर निर्धारण हुने गरेको उनले बताए । भारतीय अर्थतन्त्र सबल भएको खण्डमा नेपाली मुद्रा पनि बलियो हुन्छ । भारतीय अर्थतन्त्र नकारात्मक भएको खण्डमा भारतीय मुद्रा अन्य मुद्राको तुलनामा कमजोर हुन्छ । नेपाली रुपैयाँ पनि सोही अनुसार कमजोर हुन्छ । नेपाली मुद्राको अन्य मुद्रासँग विनिमय गर्दा अर्थतन्त्रमा आएको उतारचढावले असर गर्दैन ।

“स्वदेशी मुद्रा कमजोर हुनु भनेको राम्रो होइन,” उनले भने,“आयातमा आधारित अर्थतन्त्र भएकाले डलर बलीयो हुँदा आयात गर्ने रकमको आकार बढ्न जान्छ । तर, रेमिट्यान्स आप्रवाह बढ्छ ।” डलर बलियो हुँदा रेमिट्यान्स नपठाउने सोचमा भएको व्यक्तिले पनि पठाउने गरेको उनको भनाइ छ । डलर बलियो भएको खण्डमा रेमिट्यान्स आउने क्रममा पनि वृद्धि हुने हुँदा विदेशी विनमयको सञ्चिति समेत बढ्न जान्छ । त्यसका साथै पछिल्लो समय आयातमा गरिएको नियन्त्रणले विदेशी विनिमय सञ्चिति बढ्ने सम्भावना छ । आयातमा गरिएको नियन्त्रण दीर्घकालिन भने होइन ।

आयात घटाउने र उत्पादन बढाउने हो भने मुद्रा कमजोर भए पनि खासै असर नगर्ने उनले बताए । तर, आयातमा आधारित अर्थतन्त्र भएका कारण मुद्रा कमजोर हुँदा मूल्य वृद्धिमा दवाव पर्ने कुरामा भने उनी सहमत छन् । नेपाले विभिन्न १६३ बस्तुहरु आयात गर्दा अमेरिकी डलरमा खरिद गर्नुपर्ने हुन्छ । जसले गर्दा मूल्य वृद्धि हुने निश्चित छ । त्यसका साथै पेट्रोलियम पदार्थ पूर्ण रुपमा आयातमा निर्भर छ । रसिया र युक्रेन युद्धका कारण विश्व बजारमा यसको मूल्य समेत बढ्ने क्रममा भएकाले नेपाली अर्थतन्त्रमा महङ्गी बढ्ने निश्चित छ ।

भारतको चालु खाता घाटा बढेका कारण भारतीय रुपैयाँ कमजोर हुँदै आएको छ । मंगलबार मात्र एक डलर बरावर ७७ रुपैयाँ १७ पैसा भारतीय रुपैयाँ कायम भएको छ । विश्वमा कुनै पनि जोखिम आएको खण्डमा अमेरिकी डलरमा लगानी बढ्छ । पछिल्लो समयमा अमेरिकी केन्द्रीय बैंकले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै ब्याजदर बढाएको छ । त्यसका साथै रसियालाई विश्वका धेरै देशले प्रतिबन्ध लगाएको अवस्थाले गर्दा पनि डलर बलियो हुनमा थप मद्दत पुगेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।