सगरमाथाको एजिएमः लाभांश अनुमोदन र मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्दै सम्पन्न

0
Shares

सगरमाथा इन्स्योरेन्सको बुधबार सम्पन्न २५ औं वार्षिक साधारण सभाले लाभांश अनुमोदन र अन्य निर्जीवन बीमा कम्पनीहरुसँग मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्दै सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा भएको सभाले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर समायोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

कम्पनीको अधिकृत पूँजी दुई अर्बबाट वृद्धि गरी ५ अर्ब कायम गर्ने र दफा ५ को उपदफा २ पछि उपदफा २.१ थप गरी सो उपदफामा चुक्ता पूँजीको व्यवस्था गरी कम्पनीको चुक्ता पूँजी एक अर्ब तेत्तिस करोड छत्तिस लाख उनान्तीस हजार कायम गर्ने प्रस्ताव पारित भएको छ ।

लैनचौर ब्यान्क्वेटमा सम्पन्न भएको कम्पनीको सभाले सगरमाथा र अन्य निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सञ्चालक समितिलाई दिईएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता प्रदान गर्ने सहमति दिएको छ ।

यस्तै मर्जर तथा एक्वीजिशनका लागि प्रस्ताव पारित भई स्वीकृतिका लागी पेश हुदा नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा संसोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साथै, सभाले कम्पनीको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब र सोसँंग सम्बन्धित सम्पूर्ण अनुसूचीहरु पारित गरेको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, कम्पनीमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सञ्चालक समितिबाट शोभा श्रेष्ठलाई नियुक्ती गरिएकोमा सोको अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६।७७ को तुलनामा आर्थिक वर्ष २०७७।७८ मा १६.०५ प्रतिशतले व्यवसाय वृद्धि गर्दै कुल बीमाशुल्क २ अर्ब ६१ करोड ६१ लख रुपैयाँ बराबर आर्जन गरेको छ । सो अवधिमा कम्पनीको कुल दाबी भुक्तानी २७ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ४९ लाख ५१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीको एनएफआरएस रिर्पोट अनुसार ४४ करोड ७४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । कम्पनीको गत आवमा कुल २१.९७ प्रतिशतले वृद्धि भई २ अर्ब ४३ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।